काठमाडौं, १६ पुस । नेपालका राजनीतिज्ञ ‘भारतसँगको सम्बन्ध’ का विषयमा बोल्दा कुनै न कुनै रुपमा चीनलाइ जोड्न छुटाउँदैनन् । भारतको विषयमा बोल्दा अनावश्यक रुपमा चीनलाई तान्नु र चीनका विषयमा बोल्दा भारतलाई जोड्ने प्रवृत्ति नयाँ भने होइन ।
यस्तो अभ्यास नेपालमा मात्र होइन, भारतमा पनि छ । भारतमा पनि राजनीतिज्ञले ‘नेपाल सम्बन्ध’ का विषयमा बोल्दा कुनै न कुनै रुपमा चीनलाई जोड्ने गर्छन् ।
भारतीय सञ्चार माध्यममा आएका पछिल्लो समाचारले त्यहाँका संसद्मा उठ्ने नेपाल सम्बन्धका प्रश्नहरुमा सांसदहरुले चीनलाई जबर्जस्त जोड्ने गरेका छन् ।
‘सुरक्षा सतर्कता’का नाममा होस् या ‘छिमेकीप्रतिको चासो’, कुनै न कुनै बहानामा नेपाललाई चीनसँग जोडेर सवालजवाफ हुने गरेको छ भारतीय संसद्मा चाहे त्यो राज्यसभा होस या लोकसभा, नेपालको विषयमा बोल्ने अधिकांश सांसदले सँगै चीनकाे नाम उच्चारण गर्न भुल्दैनन् ।
पछिल्ला केही महिना भारत संसद् राज्यसभा र लोकसभा सांसद्हरुले उठाएको प्रश्न नियाल्दा यो प्रष्ट हुन्छ कि भारतीयहरु नेपालमा चीनकाे बढ्दो प्रभावप्रति निकै चिन्तित छन् ।
‘चीनले रेल सेवा नेपाल हुँदै बिहार सीमासम्म ल्याउने योजना बनाएको बारे सरकार जानकार छ ? सीमा क्षेत्रमा यस्तो पूर्वाधार निर्माण हुँदा भारतको सुरक्षा प्रणालीमा कस्तो प्रभाव पार्छ ?’, सन् २०१६ नोभेम्बर १६ का दिन भारतको लोकसभामा सांसद चिन्तामणि माल्भिया र रविन्द्रकुमा रायले विदेशराज्यमन्त्रीसँग जवाफ मागे ।
संसदेमा सरोकारवाला मन्त्रीले स्पष्ट रुपमा जवाफ दिएपनि यस्ता प्रश्न पटकपटक दोहोरिने गरेका छन् । नागरिक दैनिकमा खबर छ ।



