काठमाडौ।
बिहिबार पुल्चोकमा त्रिभुवन विश्वविद्यालयको ४२ औँ दिक्षान्त समारोह थियो। हजारौं विद्यार्थी सो समारोहमा उपस्थित थिए। सोही कार्यक्रममा एक साथ पुगेका थिए एकै परिवारका चार दिदीबहिनी।
यी चार दिदीबहिनी गुराँस वन, गंगा वन, जमुना वन र सरु वन सो समारोहमा एक साथ दिक्षित भए।
नवलपरासी अरुणखोलामा जन्मेर गैडाकोटामा बस्दै आएका उनीहरु एक साथ दिक्षित हुँदा परिवार खुसीले प्रफुल्लित थियो।
गुराँस र गंगाले मेजर इङ्गलिस, जमुनाले ग्रामीण विकास र सरुले पत्रकारिता र आमसञ्चारमा स्नातक गरेका छन्। चारै दिदीबहिनी अहिले स्नातकोत्तर तहको पढाइ गर्दैछन्।
गंगा र जमुना जुम्ल्याह हुन। गंगा अमेरिकामा स्वयंसेवा गरेवापत राष्ट्रपति बाराक ओबामाबाट पुरस्कृत समेत भएकी छिन्। जमुना स्वदेशमै केही गर्न सकिन्छ कि भनी युवा जागरण काममा सक्रिय छिन्। आमसञ्चार र पत्रकारिता अध्ययन पश्चात सरु सांगीतिक क्षेत्रमा सक्रिय छिन्।
गुराँस ह्याप्पी लाइफ एजुकेशन नामक संस्था दर्ता गरेर सोहीमार्फत देशव्यापी शैक्षिक अभियानमा लागेकी छिन्। उनी युवा तथा विद्यार्थीलाई स्वदेशमै बसेर कसरी अवसरको खोजी गर्ने तथा कसरी सकारात्मक सोच विकास गर्नेबारे उत्प्रेरणाका तालिम सञ्चालन गर्छिन्।
‘हामी चार बहिनी मात्र भएको हुनाले सानो छँदा कतिपय आफन्तहरुले छोरा नभइ त के गर्नु, छोरीले केही गर्न सक्दैनन् भन्थे।’, गुराँस भन्छिन्, ‘तर हाम्रो बुबाआमाले छोरीले पनि केही गर्न सक्छन् भनेर हामीलाई संधै प्रेरणा र हौसला दिनुभयो, त्यसैले हामी यहाँ सम्म आइपुग्यौँ।’
छोरा नै प्रमुख भन्ने समाजको लागि यी चार दिदीबहिनी अहिले एक उदाहरण बनेका छन्। परिवारको सहयोग र आफ्नो इच्छाशक्ति भए सफलता सजिलै चुम्न सकिने उनीहरुले सावित गरेर देखाएका छन्।



