निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्य सचिवको तलब मासिक डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ हुनुपर्ने माग गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडासँगको भेटमा ट्रेड युनियनले कर्मचारीको तलब वृद्धिको माग गरेको हो ।
कार्यालय सहयोगीको भन्दा मुख्य सचिवको तलब पाँच गुणा माथि हुने गरी युनियनले तलब वृद्धिको प्रस्ताव गरेको हो । अर्थमन्त्री खतिवडालाई १८ बुँदे ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनले कर्मचारीको भारी तलब वृद्धिको माग गरेको हो ।
अहिले कार्यालय सहयोगीको तलब करिब २० हजार र मुख्य सचिवको मासिक ६० हजार रुपैयाँको हाराहारीमा छ । उनीहरुले त्यसलाई वृद्धि गर्न माग गरेका हुन् ।
आधिकारिक ट्रेड युनियनले सरकारले वार्षिक सात हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको पोशाक भत्ता १५ हजार रुपैयाँ पुर्याउन पनि माग गरेको छ । कर्मचारी युनियनले निजामती कर्मचारीलाई वर्षको अन्त्यमा १५ दिन आन्तरिक पर्यटन काजको व्यवस्था मिलाउन पनि माग गरेको छ ।
आउँदो आर्थिक वर्षको बजेटको तयारीमा सरकार रहेकाले आफूहरुले आफ्ना मागबारे अर्थमन्त्रीलाई जानकारी गराएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले बताए ।
जवाफमा अर्थमन्त्री खतिवडाले कर्मचारीको मागप्रति आफू सकारात्मक रहेको बताएका छन् । उनले आफू पनि कर्मचारीकै पृष्ठभूमिबाट आएको र कर्मचारीका समस्या थाहा भएकाले सकेसम्म हल गर्ने बचन दिएका छन् ।
खतिवडाले अहिले सरकारी ढुकुटीको अवस्था कमजोर रहेको भन्दै घुमाउरो भाषामा तलब बढाउन नसकिने जवाफ दिएका छन् । उनले ‘ट्रेजरी पोजिसन’ हेरेर आफूले निर्णय लिने जवाफ कर्मचारीलाई दिए ।



