रेनाटो दा सिल्भा जुनियरको इच्छा छ, वकिल बन्ने। तर उनको सपनामा एउटा अवरोध छ, त्यो हो, उनी हत्या आरोपमा २० वर्षको कैद सजाय भुक्तान गरिरहेका छन्।
‘मेरा गल्तीहरुभन्दा मेरा सपनाहरु ठूला छन्,’ उनी मुस्कुराउँदै भन्छन्, ‘यहाँबाट सकेसम्म चाँडो निस्किन म सबैथोक गरिरहेको छु।’
एसोसिएसन फर द प्रोटेक्सटन एन्ड असिस्टेन्स टु कन्भिक्ट्स (एप्याक) ले सञ्चालन गरेको जेलका कैदी हुन् २८ वर्षे दा सिल्भा। यो जेल ब्राजिलको मिना जेराइ राज्यको इताउना सहरमा अवस्थित छ। यो पुरुषहरुलाई राखिएको जेल हो, जुन अन्य जेलहरुभन्दा धेरै अर्थमा फरक छ।
इताउना सहरकै अर्काे कुनामा यस्तै शैलीकाे अर्काे एप्याक जेल छ। त्यसमा चाहिँ महिला कैदी मात्र छन्। सो जेलमा सरेको दिन तात्याना कोरिया डी लिमाले आफैँलाई चिनिनन्। १२ वर्षका लागि जेल परेकी २ बच्चाकी आमा २६ वर्षीया लिमाले यो जेलमा सरेपछि ऐना हेर्न पाएकी थिइन्।
‘ऐनामा फेरि आफूलाई हेर्नु निकै अनौठो कुरा थियो। सुरुमा त म को हुँ ठम्याउनै सकिनँ,’ उनले भनिन्।
बन्दुक र सुरक्षाकर्मी बिनाका जेल
एप्याक जेलका कैदीलाई आफ्नै कपडा लगाउन अनुमति छ। आफ्नो खाना आफैँ पकाउन, ऐना राख्न, शृंगार गर्न, कपाल रंगाउन र सबैभन्दा ठूलो कुरो जेलको साँचो आफैँसँग राख्न पनि अनुमति छ। दुई फरक जेलका समान विशेषता छन्। यिनमा न सुरक्षाकर्मी हुन्छन्, न कुनै हतियार। कैदी भेट्न आउनेहरुलाई एक कैदीले नै स्वागत गर्छन्, मुख्य ढोका खोलिदिन्छन्।
जेलको दुरावस्थाका कारण ब्राजिल बेलाबखत चर्चामा आइरहन्छ। भीडभाड र हिंसात्मक झडपहरु भइरहन्छन्।
सबैभन्दा धेरै कैदी संख्या रहेको देशमध्ये ब्राजिल चौथो नम्बरमा पर्दछ।
गत मार्च २० मा रोन्दोनियामा नयाँ एप्याक जेल खुलेसँगै देशभर यस्तो जेलको संख्या ४९ पुगेको छ।
पछिल्लो समय एप्याक जेललाई सुरक्षित र सस्तो मानिन थालिएको छ। मानवअधिकारको सवालमा समेत यी जेल अगाडि आउँछन्।
एप्याकका सबै कैदीले पहिले मूलधारको जेल पास भएर आउनुपर्छ। उनीहरुले आफ्नो गल्तीप्रति पश्चाताप प्रकट गर्नुपर्छ र काम तथा अध्ययनको कठिन तालिकालाई पछ्याउनुपर्छ। यस्तो जेलको मुख्य आदर्श नै काम तथा अध्ययन हो।
यस्ता जेलमा कैदीलाई नम्बर वा उपनामबाट बोलाइँदैन। कैदीहरुलाई ‘सुधार हुँदै गएका मानिस’ भन्ने गरिन्छ।
जेलमा रहनेहरुले काम र अध्ययन गर्नैपर्छ। यस्ता काम कहिलेकाहीँ स्थानीय समुदायसँग मिलेर पनि गरिन्छ। यसमा आनाकानी गरे उनीहरुलाई मूलधारको जेल फिर्ता पठाइन्छ।
यस्ता जेलमा कहिलेकाहीँ भीडन्त हुने गरेका छन्। तर त्यसको कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन।
एप्याक जेललाई सहयोग गर्ने इटालियन एनजिओ एभिएसआइ फाउन्डेसनका ब्राजिल उपाध्यक्ष याकापो स्याटियालोका अनुसार जेलमा सुरक्षाकर्मी नहुँदा तनाव आफैँ कम हुन्छ। जेलमा रहेका कतिपय कैदी हिंस्रक अपराधका लागि जन्मकैद भोगिरहेका छन् तैपनि जेलको वातावरण शान्त छ।
जहाँ प्रेम वर्जित छैन
यस्ता जेलमा दम्पत्ती वा प्रेमी जोडीका लागि विशेष सुविधा पनि छ। महिला जेलमा मज्जाले सजाइएको एक दाम्पत्य काेठा छ, जहाँ डबल बेड राखिएको छ। र जेलमा रहेका महिलाले बाहिरबाट भेट्न आएका आफ्ना पति तथा प्रेमीसँग त्यही कोठामा निजी समय बिताउन पाउँछन्।
‘म अझै पुरानो जेल बिर्सिने प्रयासमा छु,’ एक कैदी तथा नयाँ जेलको प्रशासन सम्हालिरहेकी अग्विमारा प्याट्रिसिया सिल्भिया क्याम्पोस भन्छिन्। घरमा २६ किलो कोकिन भेटिएपछि उनी जेल परेकी थिइन्। ‘२० जना भुइँमा म्याट्रेस ओच्छ्याएर सँगै पल्टेका थिए,’ उनी सम्झिन्छिन्।
ब्राजिलमा महिला कैदीहरुको संख्या बढ्दो छ। तिनका पार्टनरद्वारा महिलाहरु अपराधमा तानिने गर्दछन्। ‘म जेल जाँदासम्म मलाई अपराधबारे केही थाहा थिएन,’ क्याम्पोस भन्छिन्, ‘मसँगै जेलमा रहेकी एक महिलाले छिमेकीको टाउको छिनाएर सुटकेसमा बोकेर हिँडेकी थिइन्।’
८ वर्षका लागि जेल परेकी उनी कामका माध्यमबाट सजाय घटाइरहेकी छन्।
काम र अध्ययनका माध्यमबाट सजाय घटाउने व्यवस्था मूलधारको जेलमा पनि छ तर त्यो विरलै लागू हुने गर्छ।
एप्याक जेलमा तीन प्रकारको व्यवस्था छ। बन्द व्यवस्था, अर्धखुल्ला व्यवस्था र खुल्ला व्यवस्था। जेल परेपछि पहिलो पटक ऐना हेरेर चकित बनेकी लिमा अहिलेलाई बन्द व्यवस्थामा छिन्। उनले अर्धखुल्ला व्यवस्थामा पुग्नका लागि प्रगति गर्नुपर्ने हुन्छ। खुल्ला व्यवस्थामा रहेकाहरुले चाहिँ सातामा एक पटक जेलबाट बाहिर जान पनि पाउँछन्।
जेलभित्रै रहे पनि लिमाले एक प्रेमी फेला पारेकी छन्। जेलको आफ्नै कोठामा बसेर लिमा र उनको साथी भिभियनले सहरको अर्कोपट्टि रहेको पुरुष कैदी राखिएको एप्याक जेलमा पत्र लेखेका थिए। जेल प्रशासनमार्फत पत्र आदानप्रदान गरेपछि पुरुष जेलका दुई साथीसँग डेट गर्न थालेका थिए।
महिला जेलको भित्तामा सन्देश लेखिएको छ, ‘मायाबाट कोही पनि भाग्न चाहँदैन।’
एप्याक जेलमा रहेका सबै कैदीले साथ पाउन् भन्ने आफूहरुको इच्छा रहेको जेल सञ्चालकहरु बताउँछन्।
किन खुल्दैनन् अरु एप्याक जेल?
इताउनाको पुरुष कैदी राखिएको जेलको ढोका एक सुधारिँदै गरेका व्यक्ति डेविड रोड्रिगेज दा ओलिभिएराले खोले।
‘यहाँबाट भाग्ने कुनै सोच छैन। म सजायको अन्तिममा आइपुगेको छु र आफ्नो अपराधको मूल्य लगभग चुकाइसकेको छु। उनीहरुले ममाथि विश्वास गरेका छन्। मेरो जिम्मा भनेको ढोकाको रेखदेख गर्नु हो,’ ३२ वर्षे दा ओलिभिएराले भने।
यो जेलमा बिरामी हुँदा वा सजाय दिइँदाको बेला बाहेक कैदीलाई आफ्नो कोठामा बसिरहने अनुमति छैन। यदि उनीहरुले भाग्ने प्रयत्न गरे भने उनीहरुलाई मूलधारको जेलमा फर्काइन्छ।
जेलको अर्धखुल्ला खण्डमा ३५ वर्षे रोड्रिगो दे ओलिभिएरो पिन्टो स्टोररुम चलाउँछन्। उनको डेस्कमा एउटा कविता संग्रहकाे पुस्तक पल्टिरहेकाे देखिन्छ। हत्या आरोपमा उनी १२ वर्षको जेल जीवन काटिरहेका छन्। जेलबाट छुटेपछि पनि उनी एप्याकमै काम गर्न चाहन्छन्।
‘मेरो दिमाग गडबड भएको थियो र म संकटमा परेँ। यहाँ आएपछि म बदलिएँ। यहीँ फर्केर म अरुलाई सहयोग गर्न चाहन्छु,’ उनले भने।

बन्द क्षेत्रको भित्तामा एप्याकको नारा लेखिएको छ, ‘मानिस भित्र छिर्छ, अपराध बाहिरै रहन्छ।’
बन्द क्षेत्रमा काठको काम गर्ने कोठा छ। अर्ध खुल्लामा पुगेपछि जेलबाहिर निस्केर काम गर्ने मौका कैदीहरुले पाउँछन्।
जेल भवनपछाडिको बगैँचामा ३१ वर्षे रेनाटो डिएगो दा सुजा साबुनको बट्टामा लेवल लगाइरहेका छन्। ती साबुन बाहिर बेचिन्छन्। कैदीहरुले स्थानीय स्कुलका लागि पाउरोटी पनि तयार गर्छन्। खेलौनाहरु बनाउँछन्। लागूऔषधबाट आफ्नो समस्या सुरु भएको दा सुजा बताउँछन्। जसले गर्दा उनी लुटपाटमा सहभागी भए। तर एप्याक जेलको अर्धखुल्ला व्यवस्थामा आइसकेपछि उनको जीवनमा आशाको दीयो बलेको छ।
बन्द व्यवस्थाबाट खुलातर्फ सरुवा हुने सम्भावनाका बारेमा कैदीहरुबीच छलफल चलिरहन्छ।
एप्याक जेलहरुको यस्तो सफलताको बावजूद निकै कम यस्ता जेल खुलेका छन्। किन त? ‘जब ब्राजिलको जेलमा दंगा हुन्छ, तब एप्याक खोल्ने कुरा हुन्छ। तर त्यसका लागि कैयौँ कुरा आवश्यक हुन्छ। यसमा राज्यको सहभागिता हुनुपर्छ र राजनीतिक इच्छाशक्ति पनि चाहिन्छ,’ याकापो स्याटियालो भन्छन्।
(बिबिसी र गार्डियनमा प्रकाशित रिपोर्टको सहयोगमा)



