पुस १७, २०७३- सधैं जस्तै हिउँदमा गोरखाका उत्तरी क्षेत्रका हिमालपारिका गाविसहरुमा शनिबार रातिबाट हिमपात सुरु भएको छ ।
आइतबार दिउँसो पानी परेपछि हिउँ थपिन थालेको स्थानीयबासीले बताएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि सर्वसाधरण खुसी भएका छन् । २०७२ बैशाखको भूकम्पको केन्द्रविन्दु बारपाक, लाप्राक, गुम्दा लगायत अति प्रभावित क्षेत्रमा पनि असिना पानी परेर चिसो बढेको छ । चीनको तिब्बतसँग सीमा जोडिएको सामागाउँमा एक फिट हिउँ जमेको त्यहाँ पुगेका चलचित्रकर्मी खिलबहादुर गुरुङले जानकारी दिए ।
‘रातिबाट हिउँ परेपछि मानिसहरु घर बाहिर निस्केका छैनन,’ उनले भने । ‘चिसो बढेर जनजीवन पनि कष्टकर बनेको छ,’ गुरुङले भने, ‘छानामा परेको हिउँ पन्छाउँदै आगो तापेर बसेका छौं ।’
मनासलु हिमालको फेदीमा पर्ने सामागाउँ लगायत हिमपात हुने उच्च क्षेत्रका अधिकांश जाडो छल्न हिउँद सुरु भए लगत्तै तल्लो क्षेत्रमा झरेका छन् । चुम्मभ्याली अन्र्तगत छेकम्पारमा पनि हिमपात भएको स्थानियले बताए । चिसो बढेको कारण टेलिफोनले समेत राम्रो काम गर्न सकेको छैन । हिउँ परेपछि अन्नबाली सप्रने, जमिनलाई आवश्यक पानीको मात्रा पुगेर खेतीबाली सप्रने भन्दै स्थानियबासी खुसी भएका हुन् ।
असिना परेपछि बारपाकको बस्ती नजिकैको डाँडाकाडाँमा हिमपात भएको स्थानिय पुरबहादुर घलेले बताए । ‘घाम लागेको छैन, निकै जाडो भएको छ,’ उनले अनुमन गर्दै भने, ‘मौसम खुलेन भने बस्ती सम्मै हिउँ जम्न सक्छ ।’ सिर्दिबास माथिका गाविस र बारपाकको विद्यालयहरुमा समेत जाडो बिदा भएको छ ।

गत वर्ष पनि पुसको अन्तिममा बारपाकसहित उत्तरी क्षेत्रमा हिमपात भएको थियो । हिउँले लाप्राक गुप्सीपाखाका भूकम्प पीडितको अस्थायी टहरो पुरिएको थियो । अहिले गुप्सीपाखामा एकिकृत बस्ती निर्माण गर्न अस्थायी टहरो भत्काएपछि अधिकांश पुरानै बस्तीमा फर्केका छन् । केहि चाँहि गुप्सीपाखा आसपास नै अस्थायी टहरोमा बसेको स्थानिय राज गुरुङले जानकारी दिए ।
कान्तिपुर बाट सभार



