काठमाडौं, १६ जेठ । बोआओ सम्मेलन छाडेर भारतको राजकीय भ्रमणमा गएपछि चीन प्रधानमन्त्री केपी ओलीसँग रुष्ट बनेको छ । जेठको तेस्रो साता सांघाई को–अपरेसन अर्गनाइजेसन सम्मेलनमा ओलीलाई निमन्त्रणा नआएपछि यस्तो रहस्य खुलेको हो ।
प्रधानमन्त्री ओली सांघाई को–अपरेसन अर्गनाइजेसन सम्मेलनमा सहभागी हुने र त्यतैबाट बेइजिङ भ्रमणमा जान चाहन्थे । तर, उनको यो इच्छा चीनले पूरा नगरिदिएको बताइन्छ । यसका लागि ओली चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई समेत प्रयोग गरेका थिए । तर, उनीमार्फत चीनले असारको पहिलो साता बेइजिङमै आउन भनेको बताइन्छ ।
ओलीले केही समयअघि आफू चाँडै चीन भ्रमणमा जान लागेको संसदमा बताएका थिए । त्यसको केही दिनपछि ओलीले असार ५ गते चीन भ्रमणमा जाने समाचार सार्वजनिक गराएका थिए । ओलीको यो कार्यशैलीप्रति बेइजिङ असन्तुष्ट बनेको बताइन्छ । भारत भ्रमणपछि ओलीले छिमेकी भारत र चीनसँग नेपालको सम्बन्ध सुधारिएको बताउँदै आएका छन् । बाबुराम भट्टराईका पालामा चीनका तत्कालीन प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणको मिति सार्वजनिक हुँदा चिनियाँले हंगामा गरेका थिए ।
ओली बोआओ फोरममा निम्ता पाएर पनि नगएको बरु भारत गएको घटनाबाट चिनियाँहरू रुष्ट छन् । ओलीले उक्त मितिमा सम्मेलनमा जाने, रुससहितका नेतासँग भेट्ने र चिनियाँ नेतृत्वसँग लगत्तै बेइजिङ गएर वार्ता गर्ने प्रस्ताव पठाएका थिए । तर चीनको नेतृत्वले समय दिन नभ्याउने भएकाले सम्मेलनमा होइन, जुन १९ देखि पाँच दिनका लागि उतै (बेइजिङ) आउनुस् भन्ने जवाफ राजदूत पौडेलमार्फत पठाएको थियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमणमा चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर याङ यीले भारतसँग सम्बन्ध विकासमा जोड दिँदै, केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी जोड्ने रेलमार्गमा लगानी गर्न नसक्ने जानकारी दिइसकेका छन् । ओलीले चीनको डर देखाएर बार्गेनिङ गरेको भारतीय नेतृत्वको बुझाई छँदै थियो, अब चीनले पनि ओलीले बार्गेनिङ गरेको बुझ्न थालेपछि ओलीको छिमेक नीति पूर्णतः असफल भएको देखिएको छ ।
मोदीको नेपाल मोह
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने चौथोपटक नेपाल भ्रमणमा आउने तयारीमा छन् । गत वैशाखमा मोदीले नेपालको धार्मिक भ्रमण गरेका थिए । उनी जनकपुर हुँदै काठमाडौंबाट मुक्तिनाथ गएर नयाँ दिल्ली फर्केका थिए ।
नेपालमा हुने विमस्टेक सम्मेलनमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । नेपाल विमस्टेकको अध्यक्ष राष्ट्र हो । नेपालले आगामी असोजमा विमस्टेक सम्मेलन गर्ने गृहकार्य थालेको छ । तर, त्यसअघि नै सम्मेलन गर्न मोदीले प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बुझिएको छ ।
मिडिया एनपी बाट



