गोकर्ण गौतम

रुपक सापकोटाले झापाबाट फेसबुक लाइभ गरे, २५ माघ ०७३ मा । जसमा एक बालकले उत्साही हुँदै गीत गाएका छन् । सुरताल नमिले पनि स्वर मीठै छ । हुलिया अतिविपन्न परिवारको जस्तो छ । भिडियोमा उनले भनेका छन्, ‘म बाटोमा गीत गाएर दिनको हजारजति कमाउँछु । चामल किन्छु । खेती गर्छु । ड्याडी थला पर्नुभएको छ ।’

त्यसपछि बालकबारे धेरथोर खोजी हुन थाल्यो । ९ महिनापछि नवराज उप्रेतीले उनीसँगको अनौपचारिक अन्तर्वार्ता आफ्नो युट्युब च्यानलमा अपलोड गरे । त्यसपछि उनका अरू दुई–चार भिडियो सार्वजनिक भए । अनि, कालजमाना अनुसार ती बालक अर्थात् अशोक दर्जी ‘भाइरल’ भइहाले । उनको गायन प्रतिभा र चर्चा–परिचर्चा देखेर दुई महिनाअगाडि काठमाडौँ ल्याइयो । टंक बुढाथोकीसँग एउटा गीत रेकर्ड गरे, ‘धनबिनाको मन ठूलो कि मनबिनाको धन…।’

अहिले नेपाली युनिकोडमा ‘अशोक दर्जी’ टाइप गरेर युट्युब सर्च गर्दा २२ हजार र अंग्रेजीमा ११ हजार रिजल्ट आउँछ । यही आँकडाबाट आकलन गर्न सकिन्छ, अशोकले कति चर्को ‘एटेन्सन’ पाएका छन् ।

सरसर्ती हेर्दा लाग्छ, यो सबै उनी र उनको प्रतिभाप्रतिको प्रेम हो । युट्युब उनका लागि वरदान सावित भयो । तर, सँगै चिन्ता व्यक्त हुन थालेका छन्, गरिब परिवारमा जन्मिएको र पढाइबाट वञ्चित बालकले यति छिटै ‘एक्स्पोजर’ पाउँदा मनोवैज्ञानिक असर पर्दैन ? सामान्य बालबालिकाझैँ हुर्कन पाउने अधिकार जानी/नजानी हरण त हुँदै छैन ? यी सवाल केलाउनु पहिले खासगरी युट्युबमा उनीसँग सम्बन्धित कस्ता भिडियो कन्टेन्ट आइरहेका छन्, त्यसलाई नियालौँ ।

 

समुद्री किनारामा अर्धनग्न नाचेको, दुबईबाट निराश हुँदै फर्किएको, पहिलो गीत नै विवादमा परेको, घरमा कन्तबिजोग भएको, आमाबाबुको झगडा परेको, स्टुडियोमा गाउँदा–गाउँदै ‘माटो’ भनेको, महँगो घडी लगाएर मलेसियाबाट फर्किएको, पहिलोपटक पशुपतिनाथ पुगेको, दुबईमा भएका अशोकलाई सम्झेर बाबुआमा रोएको, उनको नाममा टंक बुढाथोकी हिट भएको आदि युट्युबमा छ्याप्छ्याप्ती भेटिन्छन् । कतिसम्म भने अशोकको घरमा भूतले तर्साएको र आमा रातभरि सुत्न नसकेको पीडासम्मका सामग्री युट्युबमा छन् । यस्ता कन्टेन्टले लाखौँ भ्युज पाएका छन् । उनीमाथि मजाक गर्दै ‘ट्रोल’ समेत बन्न थालेका छन् ।

वयस्कमा सही र गलत छुट्याउने क्षमता हुन्छ । तर, आठ वर्ष टेक्दै गरेको बालकलाई यति धेरै पछ्याउँदा अनि अतिरञ्जित गर्दै उनका गतिविधि सार्वजनिक हुँदा व्यक्तित्व निर्माणमा मात्र होइन, मानसिक रूपमै तनाव हुन्छ । “सामाजिक सञ्जालमार्फत अशोकको प्रतिभा बाहिर आयो, अरूले थाहा पाए । यो सुखद पक्ष हो,” अशोकको युट्युब ट्रेन्डलाई नियालिरहेकी बालमनोविज्ञ नन्दिता शर्मा भन्छिन्, “तर त्यसलाई अनावश्यक प्रचारबाजी गर्दा प्राप्त उपलब्धि पनि गुमेर मनोविज्ञान असर पर्छ । त्यस्तै संकेत देखापर्न थालेको छ । उनलाई उचित गाइडेन्सको अभाव देखिन्छ ।” एकोहोरो ‘वाहवाही’ ले चाहिनेभन्दा बढी आत्मविश्वास बढाउने र नकारात्मक प्रतिक्रियाले निराशामा फसाउने शर्माको भनाइ छ ।

संगीतकार टंक बुढाथोकीले अशोकलाई झापाबाट काठमाडौँमा ल्याएनन् मात्र, अशोकको जन्मदर्तासमेत गरिदिए । झापाको प्रशासन कार्यालयमै गएर उनका बाबुसँग अशोकको सबै जिम्मा लिए । अहिले अशोकका हरेक क्रियाकलाप उनको प्रत्यक्ष निगरानीमा भइरहेका छन् । अशोकसम्बन्धी भएका प्रचारबाजीलाई उनी सकारात्मक मान्छन् । नेपालसँगको कुराकानीमा बुढाथोकीले भने, “अशोक चासोको केन्द्रमा छन् । उनका सबै भिडियोले भ्युज पाएका छन् । यसमा नराम्रो के छ !”

बुढाथोकीले यसो भनिरहँदा यहाँ स्मरण गर्नुपर्ने एउटा घटना छ । अशोक काठमाडौँ आएको तेस्रो दिन नै गीत रेकर्ड गराइएको थियो । स्टुडियोमा गीत अभ्यास गरेको भिडियो उनले आफ्नो युट्युब च्यानलबाट अपलोड गरे र यहीँबाट उनको आलोचना सुरु भयो । संगीतकर्मी अंकितबाबु अधिकारीले त यसलाई अशोकमाथिको सास्तीकै संज्ञा दिए ।

‘कलिला भाइबहिनीले कतै राम्रो गाएको सुन्नुभयो र तपाईंलाई उनीहरूको सहयोग गर्न मन लाग्यो भने काठमाडौँमा ल्याएर रातारात स्टार बनाउने मेसोमा नलाग्नुस् । बरु कतै राम्रो गुरु खोजेर संगीत सिक्न पठाउनुस्,’ अधिकारीले फेसबुकमा लेखेका छन्, ‘कलिला भाइबहिनीलाई ट्रेन्डिङभन्दा ट्रेनिङ आवश्यक हुन्छ । सानै उमेरदेखि अटो–ट्युनिङको लत लगाउनुभयो भने केही बन्न सक्ने प्रतिभा पनि बुझ्नै नपाई नष्ट हुनेछन् ।’

अशोकलाई थाहै थिएन, स्टुडियो के हो, रेकर्डिङ कसरी हुन्छ, सुरताल मिलाएर कसरी गाउने, कोसँग कसरी व्यवहार गर्ने । अर्कातिर, उनी हुर्किएको र काठमाडौँ आएपछिको माहोल नितान्त अलग थियो । यहाँ घुलमिल हुनै समय लाग्थ्यो । तर, विडम्बना ! उनलाई सुरुमा यी सब सिकाइएन, सीधै गाउन लगाइयो । स्वाभाविकभन्दा नियोजित र लहडमा । यसको प्रस्ट छनक मिल्छ, बुढाथोकीले अपलोड गरेको प्राक्टिस भिडियोमा । गीत हतारमा रेकर्डिङ त गरियो नै, ‘अटो ट्युन’ को सहारा पनि लिइयो । संगीतकर्मीका अनुसार ‘अटो ट्युन’ ले सर्जकलाई अल्छी बनाउँछ । साधनाबाट टाढा राख्छ । अधिकारी भन्छन्, “अटो ट्युनले अशोकको प्राकृतिक टोन छायाँमा पर्छ । सिक्न खोज्ने बानी हराउँछ । संगीतप्रतिको सम्मान गुम्छ । सिकाएर, परिपक्व बनाएर रेकर्ड गराउन सकिन्थ्यो ।” प्रश्न उठेको छ, नियत भाइरल हुने/बनाउने मात्र त होइन ? नत्र जबर्जस्ती गीत रेकर्ड गराउनुको तुक के होला र !

मनोविज्ञ तथा बाल अधिकारकर्मी बच्चालाई ‘सेन्सेसन’ बाट टाढा राख्नुपर्ने बताउँछन् । बालापनमा रमाउन दिनुपर्छ । अनावश्यक प्रचार र वाहवाहीबाट टाढा राख्नुपर्छ । अन्यथा, आत्मविश्वास पनि गुम्छ । बाल अधिकारकर्मी मधु दवाडी भन्छन्, “शारीरिक वृद्धि र सांस्कृतिक विकासभन्दा बढी काम लगाउनु वा प्रोजेक्सन गर्नु पनि एक खालको सामाजिक र मानसिक शोषण नै हो । यहाँ त व्यापारिक उद्देश्यका लागि बच्चाको दुरुपयोग गरेको छनक मिल्दैछ ।”

टंक बुढाथोकी भन्छन्, ‘अशोक दर्जीलाई अरु कसैले यसरी हिट बनाउन सक्छ ?’

युट्युबमा अशोक दर्जीका भिडियोको बाढी आउनुको कारण के हो ?

अशोक चासोको केन्द्रमा छन् । सबैले पछ्याउँछन् । त्यसैले दर्शककै चाहना अनुसार भइरहेको छ । नत्र त उनको एउटा मात्र भिडियो ट्रेन्डिङमा जानुपर्ने । तर, सबै भिडियोले भ्युज पाएका छन् । यसमा नराम्रो के छ र !

जसरी भिडियो कन्टेन्ट आइरहेका छन्, त्यसले अशोकमा मानसिक बोझ थप्दैन ?

युट्युबमा टाइटल मात्र नकारात्मक आएको हो, कन्टेन्टमा समस्या छैन । ‘भ्युअर्स’ बढाउन त्यस्तो गरेको होला । अन्तर्वार्ता लिन आउँछन्, मैले सीधै ‘नाइँ’ भन्दा ‘टंक बुढाथोकी ठूलो भयो’ भन्लान्, अशोकको अझ नकारात्मक कुरा आउला भनेर सकेसम्म सहज व्यवस्थापन गरिरहेको छु ।

यस्तो ‘ओभर एक्स्पोजर’ ले अशोकमा पटक्कै मनोवैज्ञानिक असर पर्दैन ?

उनी आफैँ सचेत छन् । फोटो खिच्दा पनि मलाई सोध्न थालेका छन् । पहिलेजस्तो जसका अगाडि पनि गीत गाउँदैनन् । सबै मैले सिकाइरहेको छु । उनले युट्युब पनि नहेर्ने भएकाले खासै असर गर्दैन ।

तपाईं र अशोक कार्यक्रममा जाँदा कसरी पारिश्रमिक बाँडफाँट गर्नुहुन्छ ?

देश–विदेशका कार्यक्रममा लैजान उनका बुबासँग दमकको प्रशासन कार्यालयमा ‘कन्ट्रयाक्ट’ गरेको छु । मलेसियाबाट ३ लाख ६८ हजार र दुबईबाट करिब २ लाख ४० हजार आएको छ । म एक पैसा लिन्नँ । हामी उनको घर बनाउन लागिपरेका छौँ । घर बनेपछिचाहिँ अशोक र मेरो छुट्टाछुट्टै रेट हुन्छ ।

उनको घर निर्माण कहाँ पुगेको छ ?

२० लाख रुपियाँमा झापाको भालुखुडीमा फर्निचरसहितको घर बनाउन सकिन्छ भन्ने योजना थियो । त्यति रकम करिब संकलन भएको छ । अब घर निर्माणमा लाग्छौँ ।

अशोकलाई प्रयोग गरेर टंक बुढाथोकी हिट भइरहेको आरोप छ नि ?

अरु कसैले बच्चालाई यो ठाउँमा पुर्‍याउन सक्छ भने म आफ्नै छोरो दिन्छु । अशोकभन्दा अगाडि मेरो छोरा एआर बुढाथोकी युट्युबमा थियो । मलाई त्यस्तो भन्नेहरुलाई एआर नै दिन्छु । अशोक जति पर्दैन, यसको आधा हिट बनाइदिए पनि पुग्छ । कसले सक्छ ?

अब अशोकको पढाइ के हुन्छ ?

मोरङको बेथेल एजुकेसन एकाडेमीले १० कक्षासम्म नि:शुल्क पढाउने भएको छ । अहिले युकेजीमा पढ्दै छन् । अब होस्टलमै बस्छन् । समय मिलाएर कार्यक्रममा लान्छौँ ।

नेपाल साप्ताहिकबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah