काठमाडौँ, २३ पुस । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले सहमति, सहकार्य र एकताको माध्यमबाट मुलुकलाई निकास दिनुपर्ने बताउनुभएको छ ।
जिपी कोइराला फाउन्डेसनद्वारा आज यहाँ आयोजित ‘बेलायती संसद् ढाँचामा राखिएको अन्तर कलेजस्तरीय ‘श्रम निर्यात राम्रो कि नराम्रो ?’ शीर्षकमा भएको बहस कार्यक्रममा नेत्री कोइरालाले सहमति, सहकार्य र एकताको भावनालाई भुल्दा देशमा राजनीतिक सङ्कट बढ्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो –“गिरिजाबाबुले जहिले पनि सहमति, सहकार्य र एकता भन्नुहुन्थ्यो, जसको आवश्यकता अहिले झन् बढेर गएको छ ।”
नेत्री कोइरालाले अहिलेको समस्यालाई समाधान गर्नका लागि सबै दल मिलेर जानुपर्नेमा जोड दिनुभयो । सकारात्मक सोचले नै देशमा शान्ति, समृद्धि र दिगो विकास प्राप्त हुने उहाँको भनाइ थियो ।
संवैधानिक कानुनका ज्ञाता डा सूर्य ढुङ्गेलले गिरिजाप्रसाद कोइरालाले शान्ति र लोकतन्त्रका लागि गर्नुभएको योगदानलाई ध्यानमा राखी अहिलेका राजनीतिक दलहरु अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।
उहाँले लिखित संविधान नभएको बेलायतको शासनपद्धति विश्वमै उदाहरणीय भएको बताउँदै त्यसको सफल प्रयोग गर्ने पद्धति र प्रणालीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – “यो प्रणालीलाई स्थानीय तहको संसद्सम्म लागू गर्नुपर्छ ।”
पूर्वराजदूत डा दिनेश भट्टराईले युवा क्षमता अभिवृद्धिका लागि बहस र प्रशिक्षण कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनुभयो । नयाँ पुस्तामा देखिएको जोस, जाँगर र चेतनास्तरबाट आफू उत्साही भएको पनि उहाँले बताउनुभयो ।
बहस कार्यक्रममा गोल्डेन गेट इन्टरनेसनल कलेज, एपोलो इन्टरनेसनल कलेज, सान्त्वना कलेज र सगरमाथा मल्टिपल कलेजका छात्रछात्राले भाग लिएका थिए । उक्त बहसमा प्रथम स्थान हासिल गर्ने र बहसमा भाग लिने सम्पूर्ण छात्रछात्रालाई प्रमाणपत्र र पदक दिइएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, पूर्व सांसद पुरुषोत्तम बस्नेत, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतको उपस्थिति थियो ।



