काठमाडौं, २६ पुस । संसद् बैठकमा सोमबार चार सय चार सांसदले हाजिर गरेका थिए । तर, स्थानीय तह निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण विधेयकमाथि विचार गरियोस् भनी स्वीकृतिका लागि प्रस्तुत गर्दा संसद्मा गणपूरक संख्या नै पुगेन ।
नेमकिपाका सांसद डिल्ली काफ्लेले गणपूरक संख्या अपुग रहेको भन्दै गणना गर्न माग गरेपछि कोरम नै पुगेन । त्यसबेला संसद् बैठक कक्षभित्र एक सय १६ सांसद मात्र उपस्थित थिए । दुई सय ८८ सांसद भने हाजिर गरेर ‘टाप’ कसिसकेका थिए । केही सांसद भने संसद् भवनबाहिर घाम तापेर गफिँदै थिए । लगातार १५ मिनेट घन्टी बजाइएपछि केही सांसद बैठक कक्षमा फर्किएका थिए ।
संसद्मा गणपूरक संख्या पुर्याउने दायित्व सत्तापक्षको भए पनि सत्तापक्षकै कतिपय सांसद हाजिर गर्ने र बाहिरिने गरेकाले पटक–पटक संसद् बैठकमा कोरम नपुग्ने गरेको छ ।
हाजिर गरेर कति पाउँछन भत्ता ?
संसद् बैठक चलेका बेला सांसदले जनही १ हजार रुपैयाँ बैठक भत्ता पाउँछन् । त्यसका आलावा यातायात सुविधाका नाममा थप १ हजार अतिरिक्त सुविधा पनि पाउने व्यवस्था सांसदहरूको पारिश्रमिक तथा सेवासुविधासम्बन्धी ऐनमा उल्लेख छ ।
भत्ताकै कारण पनि सांसदहरू बैठकमा हाजिर गर्न छुटाउँदैनन् । तर, हाजिर गरेर उनीहरू बैठक कक्षमा बस्नुभन्दा टाप कस्ने गरेका कारण संसद्मा गणपूरक संख्या नपुग्ने गरेको विभिन्न दलका सचेतक बताउँछन् ।
सांसदहरूलाई सम्बन्धित दलले कारबाही गर्नेगरी कडाइ गर्न नसक्नु, बैठकभन्दा पनि सांसदहरू मन्त्रालय, सरकारी निकायमा बढी खटिनु र जिल्ला दौडाहमा गइरहने कारणले पनि बैठकमा गणपूरक संख्या नपुग्ने गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जो पायो, त्यहीलाई सांसद बनाउने, पार्टीको ह्विप उल्लंघन गर्ने, अनुशासन नमान्नेहरूलाई पनि तेरो–मेरो नाममा संरक्षण गर्नेजस्ता काम माथिल्ला नेताहरूबाटै हुने गरेका कारण पनि सांसदहरूमा हाजिर गरेर टाप कस्ने प्रवृत्ति बढेको बताए ।
‘मन्त्रीहरूले पनि संसद् बैठकलाई महत्व दिएर संसद् चलेका बेला समय दिने हो भने कतिपय सांसद संसद् बैठकमै रहन्छन्,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘सांसदहरू मन्त्रालय धाउने काम त्यसले रोक्न सक्थ्यो होला ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।



