काठमाडौं, २८ पुस । आफ्नो सहमतिबिनै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन बुझेको भन्दै मधेसी मोर्चा प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट भएको छ ।
आजको कान्तिपुरमा खबर छ– आयोगको कार्यविधिबारे मोर्चासँग छलफल नगरेको, समान जनसंख्याको अनुपातमा स्थनीय तहको संख्या र सिमाना किटान नगरेको, संघीय प्रदेशको मातहत स्थानीय तह नराखेकोमा असन्तुष्ट मोर्चाले प्रधानमन्त्रीलाई भेटेर छलफल गर्ने निर्णय गरेको छ ।
मोर्चा स्रोतका अनुसार जिल्लाको भ्रमण सकी बुधबार राजधानी फर्केका तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायत मोचाृका उच्च नेताले बिहीबार प्रचण्डलाई भेटी असन्तुष्टि राख्ने तयारी छ ।
‘संशोधन विधेयक टेबल भएपछि एक पटक फेरि हामी बस्ने कुरा भएको थियो, अहिलेसम्म समय मिलिसकेको छैन, तर हामी प्रधानमन्त्री भेट्छौं,’ तमलोपा उपाध्यक्षे वृषेशचन्द्र लालले भने, ‘स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनबारे हाम्रो असन्तुष्टि छ । त्यो पनि प्रधानमन्त्रीसमक्ष राख्छौं ।’



