काठमाडौं, ४ असोज । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले श्रमिकहरुको तलब न्यूनतम १९ हजार लागू गर्न सरकारसँग माग गरेको छ ।
जोखिमपूर्ण शारिरीक श्रम गर्ने मजदुरको तलब दैनिक ३ सय ९५ रुपैयाँ मात्रै रहेको भन्दै महासंघले श्रमिकहको तलब तुरुन्त बढाउन माग गरेको हो । सरकारी कार्यालयको कार्यालय सहयोगीको मासिक तलब १९ हजार कायम हुँदा जोखिमपूर्ण काम गर्ने मजदुरको तलब मासिक नौ हजार मात्रै हुनु असमान ब्यवहार भएको महासंघले जनाएको छ ।
समाजवादी ट्रेड युनियन महासंघ केन्द्रीय तदर्थ समितिले मंगलबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा पत्रकार सम्मेलन गरी श्रमिकको तलब बढाउनुपर्ने लगायतका ७ बुँदे माग अघि सारेको छ ।
उनीहरुले वर्तमान संविधान श्रमिक विरोधी भएको भन्दै तत्काल संविधान पुनर्लेखन गरी श्रम आयोगको ब्यवस्था गर्न माग गरेका छन् । विदेशिएका लाखौं जनशक्तिलाई आफ्नै देशमा योग्यताअनुसारको काम र कामअनुसारको दामको ब्यवस्था तत्काल गर्नुपर्ने पनि उनीहरुको माग छ । विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरुको वर्गिकरण गरेर वर्गिकरण गर्नुपर्ने महासंघका उपाध्यक्ष मृत्युञ्जयकुमार झाले बताए ।
प्रस्तावित औद्योगिक ऐन, श्रम ऐन, सवारी तथा यातायात ब्यवस्था ऐनहरुमा राखिएको श्रमिकमारा ब्यवस्था हटाई विगतकै श्रम ऐन र यातायात ब्यवस्था ऐनअनुसारको श्रमिक अधिकारी स्थापित गर्नुपर्ने माग पनि समाजवादी ट्रेड युनियन महासंघले अघि सारेको छ ।



