काठमाडौं, १ माघ । नेपालले आफ्नै स्याटलाइट राख्ने तयारी गरिरहेको छ । नेपालले ३० अर्ब रुपैयाँ खर्चेर स्याटलाइट राख्दा वार्षिक डेढदेखि तीन अर्ब रुपैयाँ बचत हुने भएको छ ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– सरकारले कम्तीमा ३० अर्ब रुपैयाँ खर्चेर बनाउने तयारी गरिरहेको स्याटलाइटको फ्रिक्वेन्सी नेपालबाहिर भने बेच्न नमिल्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
टेलिकम्युनिकेसनको लागि मात्रै प्रयोग हुने स्याटलाइट नेपालभित्र मात्रै प्रयोग हुनेछ । नेपालले आफ्नै स्याटलाइट राख्न गरेको प्रयासले टेलिमेडिसिन, टेलिकम्युनिकेसन, भिस्याटलगायतले विदेशी फ्रिक्वेन्सी खरिद गर्दा तिर्दै गरेको अर्बौं रकम बचत हुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
उनका अनुसार स्याटलाइट राख्नकै निम्ति सूचना तथा सञ्चार मन्त्रालयको निर्देशनमा प्राधिकराण्ले यही पुस पहिलो सातासम्मका लागि आह्वान गरेको स्याटलाइटको प्रस्तावमा विाभिन्न १३ देशका २० वटा कम्पनीको आवेदन परेको छ । सबै आशयपत्र अहिले मूल्यांकनको चरणमा छ ।



