कृष्णनगर, १ माघ । बैदेशिक रोजगारीका लागि भारततर्फ हिँडेका दुई नेपाली किशोरीको कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ । मानव बेचविखन विरुद्ध त्यहाँ कार्यरत शान्ति पुनस्र्थापना गृहले नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत दशगजाबाट उद्धार गरेको हो ।
बुटवलबाट दिल्लीतर्फ गइरहेको सुपा देउरालीको यूपी १४ डीटी ०५९८ नम्बरको बस चढेर किशोरीहरु भारततर्फ जाँदै थिए । भारत प्रवेश गर्ने क्रममा बसलाई चेकजाँच गर्दा शंकास्पद देखिएकाले किशोरीहरुलाई भारत जानबाट रोक लगाएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उद्धार गरिएका किशोरीहरुमा दाङको लालमटियाकी २२ वर्षीय गीता (नाम परिवर्तन) र खोटाङ घर भएकी २१ वर्षीय मीना (नाम परिवर्तन) रहेका छन् ।
किशोरीहरुलाई भारतको दिल्लीसम्म पु¥याउन जाने सिन्धुपाल्चोक चौताराका ३० वर्षीय नवीन श्रेष्ठलाई अनुसन्धानका लागि नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको संयोजक भट्टराईले बताए । गणेश कटुवाल भन्ने व्यक्तिमार्फत किशोरीहरु भारतको बाटो हुँदै तेस्रो मुलुक जान लागेको बुझिएको छ ।
दिल्लीमा रबि ठकोर भन्ने व्यक्तिले उनीहरुलाई रिसिभ गर्ने अनुसन्धानबाट पत्ता लागेको भट्टराईले जनाए । बिचौलियाले किशोरीहरुलाई काठमाडौंको जोरपाटीबाट चन्द्रौटा हुँदै कृष्णनगरको बाटो भएर दिल्लीका लागि पठाउन थालेको थियो ।
सोधपुछ गर्दा किशोरीहरुसँग कुनै प्रमाण समेत नभेटिएको बताइएको छ । विन्दु राई भन्ने महिलालाई पासपोर्ट सहित सम्पूर्ण कागजात बुझाएको किशोरीहरुले बताएका छन् । विचौलियाहरुले नबिन भन्नेलाई समेत प्रयोग गरेको पाइएको भट्टराईले बताए ।
इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका नवीनविरुद्ध पीडित किशोरीहरुले उजुरी दिन नचाहेपछि विचौलियाको भूमिका खेल्ने नबिनलाई समेत प्रहरीले रिहाई गरेको छ ।
यता उद्धार गरिएका किशोरीहरुलाई पीआरसीले परिवारको जिम्मा लगाई घर फिर्ता गरेको संयोजक भट्टराईले बताए ।
दैनिक नेपाल बाट सभार



