गोरखा, १ माघ । गुम्दा गाविस–५ स्थित माछाखोलामा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सल्केको आगोले आज स्थानीय शिरकुमारी गुरुङको घर जलेर नष्ट भएको छ ।
आगलागीबाट घरभित्र रहेको रु दुई लाख ५० हजार, छ तोला सुन, करिब ४० तोला चाँदी, अन्नपात, चाउमिन बनाउने उपकरण समेत जलेर नष्ट भएको छ । प्रहरी चौकी माछाखोलाका प्रहरी सहायक निरीक्षक प्रकाश अधिकारीका अनुसार आगलागीबाट छिमेकीका घरका झ्याल, ढोकामा पनि क्षति पुगेको छ । करिब रु २५ लाख बराबरको क्षति भएको अनुमान छ ।
आगलागी भएपछि घरमा रहेका मानिस भागेर सुरक्षित ठाउँ पुगेका थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ । घर जलेपछि गुरुङको परिवारले छिमेकीकहाँ शरण लिएको छ ।



