काठमाडौं, २ माघ । घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटका ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ । प्रसव पीडामा रहेका महिलालाई घरमा नराखी गोठमा सुत्केरी गराउने गरिएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– रामीडाँडा, पैक, सक्ला, लहँ, डाँडागाउँ, रग्दा, भगवती, नायकवाडालगायतका दुई दर्जन गाविसका महिला अझै पनि देउता रिसउने डरले गोठमै सुत्केरी हुने गरेका छन् ।
ग्रामीण भेगमा छुट्टै गाई बाँध्ने गोठ हुँदैन । एउटै घरको माथिल्लो तलमा मानिस बस्छन् र तल्लो तलामा गाईवस्तु राख्ने गर्छन् ।
घरको माथिल्लो तलामा सुत्केरी राख्दा देवी–देउता रिसाउने गलत मान्यताले गाई, भैंसी बाँध्ने ठाउँमा सुत्केरी राख्ने गरिएको भगवती–१ की रमिता विकले बताइन् । न्वारन भएको २१ दिनसम्म पशु चौपाया बाँध्ने ठाउँमा राख्दा निकै पीडा हुने गरेको विकको भनाइ छ ।
न्वारनपछि घरबाहिरको सबै काम गर्नुपरे पनि देउता रिसाउने भन्दै घरभित्र प्रवेश गर्न भने दिइँदैन ।



