काठमाडौं, माघ ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको ३३ किलो सुनको छानविन गर्न गठित छानविन समितिले समयभित्रै प्रतिवेदन बुझाउन सकेको छैन ।
गएको पुस २१ गते विमानस्थलबाट भित्रिएको अवैध सुनको छानविन गर्न विमानस्थलका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पुस २२ गते पाँच सदस्य छानविन समिति गठन गरिएको थियो । समितिले १० दिनभित्र भन्सार विभागलाई प्रतिवेदन बुझाउनु पर्ने भएपनि केही समय ढिला हुन गएको जनाएको छ । छानविन समितिका संयोजक दाहालका अनुसार छानविन अन्तिम चरणमा पुगेको छ र केही दिनमै प्रतिवेदन सार्वजनिक हुन्छ ।
‘क्रिमिनल छानविन सिआइबीले गरिरहेको छ । हामीले त्यसबेला को कर्मचारी कहाँ थियो, कसको जिम्मेवारी के थियो । जाँच गर्ने एक्सरे मेसिनमै पो केही खराबी थियो कि यो सबै छानविन गरिरहेका छौं’ संयोजक दाहालले भन्नुभयो, ‘सुन ल्याउने व्यक्ति गोपालबहादुर शाही पहिले पनि ओहारदोहार गर्ने व्यक्ति हो कि होइन, सुधार गर्नु पर्ने पक्ष के भन्ने विषयमा छानविन गरिरहेका छौं ।’



