४ माघ । झापाको बनियानीमा अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ ।
बनियानीको लक्ष्मी माविको खेल मैदानमा हुने अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप प्रतियोगितामा नेपाल, भारत, भूटान र बंगलादेशका १२ वटा टिम सहभागी हुनेछन् । प्रतियोगिताको माघ ७ गते पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कचनकवल र किच्चकबधलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक समितिका प्रमुख सल्लाहकार बसन्त बानियाँले जानकारी दिए । सितेरियो कराँते–डो क्षेत्र नं ३को आयोजना, जिल्ला कराँते महासंघ झापाको प्राविधिक सहयोगमा हुने कार्यक्रममा तीन सय भन्दा बढी खेलाडी सहभागी हुनेछ ।
सोही अवसर पारेर पूर्व प्रधानमन्त्री ओलीले क्षेत्र नं ३ को सम्भावित विकासका आयोजनाहरुको अवलोकन भ्रमण गर्ने समेत कार्यक्रम रहेको छ । चारआली–केचना सडक खण्ड र मेची पूलको तत्काल निर्माण सम्पन्न गराउन ओलीले अवलोकनसहित सरोकारवालालाई निर्देशन गर्ने कार्यक्रम रहेको छ । अवलोकन भ्रमणपछि एमाले अध्यक्ष ओलीले द्रोणचार्य स्मृति बाल महिला सामुदायिक भवनको शिलान्यास समेत गर्नेछन् ।



