४ माघ । नेकपा(एमाले)का महासचिव ईश्वर पोख्रेलले विदेशी भूमिमा जन्मिएर नेपालको सार्वभौममाथि खतरा ल्याउने तथा यहाँका भूमिपुत्रको अधिकार खोसेर राज्यको महत्वपूर्ण पदमा पुग्न पाउने गरी नेपाली नागरिकता प्राप्ति गर्ने कार्य एमालेका लागि स्विकार नहुने बताउनुभएको छ ।
महासचिव पोख्रेलले आज पार्टीले सुनसरीको दुहवीमा आयोजना गरेको संविधानको सहज कार्यान्वयनको गतिशीलताका लागि जनचेतना अभियान आमसभा समारोहलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
महासचिव पोख्रेलले अन्य छिमेकी देश र विश्वका राष्ट्रका भन्दा हामी नेपालीले बनाएको संविधानमा नागरिकतासम्बन्धी व्यवस्था ज्यादै लचिलो र खुकुलो भएको जिकिर गर्नुभयो ।
अर्को प्रसङ्गमा महासचिव पोख्रेलले नेपालको भूमिमा सबैले बुझ्दै आएको नेपाली भाषा राष्ट्रिय भाषा हुने र प्रदेशमा बोलिने थारु, मैथिली, नेवारी, लिम्बू ,किरात भाषा सबै नै सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउेन वर्तमान संविधानले छुट दिएकै छ भन्नुभयो ।
महासचिव पोख्रेलले अब केही समय पछि नै एमालेले मेची र महाकालीबाट संविधान कार्यान्वयनका लागि जनमत तयार पार्न तथा जनतालाई सडकमा ओराल्ने अभियान अघि बढाउने निधो गरिसकेको जानकारी गराउनुभयो ।
कार्यक्रममा पार्टी सचिव भीम आचार्यले संविधान संशोधनको माग स्थानीयवासीको नभएको बताउँदै अनावश्यक रुपमा संशोधनको विषय उछालेर सत्ता पक्षले मुठभेट र द्वन्द्व निम्त्याएको आरोप लगाउनु भयो ।



