सडक विस्तार रोक्न दलहरुले गरेको आग्रह क्षेत्रीय प्रशासकद्धारा अस्वीकार गरेको छ । हेटौंडा बजारका अतिक्रमण गरी बनाइएका घर टहरा अन्ततः भत्काउन सुरु गरिएको छ । विरोध प्रदर्शन भएता
पनि सुरक्षाकर्मीसहित डिभिजन सडक कार्यालयले मंगलबार बिहान ८ बजेदेखि आफ्नो कामको थालनी गरेको हो । निजी घरमा पनि डोजर चलेपछि प्रदर्शनकारीहरु नारा लगाएर हेरेर बस्न बाध्य भएका छन् । सोमबार ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएता पनि त्यति मात्रमा सडकमा मंगलबार बिहान देखिएनन् । मंगलबार बिहान निजी घरहरु भत्कन सुरु भएको केही समयपछि आइपुगेको प्रदर्शनकारीको हुल भन्दा सुरक्षाकर्मीको जमात बढी देखिएको थियो । बिहान ११ बजेको समयमा करिब १ घण्टा घर भत्काउन रोकिए पनि पुनः निजी घरहरु भत्काइएको छ ।
विभिन्न समयमा विभिन्न राजनैतिक दल र जनताबाट आवाज उठे पनि क्षेत्रिय प्रशासन कार्यालयले भने २५ मिटर अन्तर्गत पर्ने घरहरु जसरी भए पनि भत्कने जानकरी दिएको छ । मकवानपुर उद्योग वाणिज्य संघ, बसोबास संरक्षण समितिले सोमबार र मंगलबार हेटौँडा बन्द गरेर विरोध सभासहित नाराबाजी गरे पनि यसले २५ मिटर अन्तर्गत पर्ने घरहरु भत्कनबाट जोगाउन सकेन ।



