काठमाडौं, ६ माघ । उपत्यकामा सामान्यतया माघदेखि जेठसम्मको अवधिलाई निर्माणको मौसम मानिन्छ । यतिखेर त्यति पानी पर्दैन । काम गर्नेलाई गर्मी पनि महसुस हँदैन, जसले गर्दा बढी काम हुने विश्वास गरिन्छ ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– यो मौसममा दिन लम्बिँदै जान्छन्, जसले काम गर्ने समयावधि पनि बढी हुन्छ । त्यसैले अधिकांशले यही मौसममा घर तथा भवन निर्माण गर्छन् ।
निर्माण मौसम भएरै होला, अहिले भक्तपुर नगरभित्र घर तथा भवन निर्माण तीव्र गतिमा भइरहेको छ । २०७२ बैशाख १२, १३ र २९ को भूकम्प र त्यसपछिका पराकम्पले घर भत्किएकाहरु पुनर्निर्माणमा तदारुकता साथ लागिपरेका छन् ।
भक्तपुर नगरक्षेत्रमा सबैतिर पुनर्निर्माण भइरहेकाले अहिले यहँँका मुख्य तथा सहायक सडकमा निर्माण सामग्रीको थुप्रो भेटिन्छ । पुनर्निर्माणकै कारण भक्तपुर नगरभित्रका कतिपय सडक अहिले अवरुद्ध छन् ।
मुख्य सडकसमेत इँटा, बालुवा, रोडा र डन्डी थुपारिउका कारण साँघुरिउका छन्, जहाँबाट सर्वसाधारणलाई आवतजावत गर्न सहज छैन । यसले आकस्मिक गाडी एवं अन्य सवारीसाधनलाई भक्तपुर नगरभित्र अहिले नाकाबन्दीजस्तै छ ।



