काठमाडौं, ६ माघ । प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सरकारमा सहभागी हुने संकेत दिएका थिए । तर, सरकारमा सहभागी गराउन थापालाई कांग्रेसले र गच्छदारलाई उनकै पार्टीभित्रका नेताहरूले अप्ठ्यारो पारेका छन् ।
आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री प्रचण्ड थापालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र गच्छदारलाई उपप्रधानमन्त्रीसहित सञ्चार मन्त्रालयको जिम्मेवारी दिन तयार थिए । यसो गर्दा प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा थापा र गच्छदार पर्ने भन्दै कांग्रेसले मानेको छैन । अहिले प्रधानमन्त्री प्रचण्डपछिको बरियतामा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि छन् । थापा र गच्छदार सरकारमा सहभागी भएमा निधिभन्दा सिनियर हुने भन्दै कांग्रेस सकारात्मक नभएको हो ।
राप्रपा नेता दिलनाथ गिरीले सरकारमा थप सहभागिताका लागि प्रस्ताव आएको, तर अहिले नजाने बताए । ‘प्रधानमन्त्रीले सरकारमा सहभागी हुन प्रस्ताव गरिरहनुभएको छ,’ राप्रपा नेता दिलनाथ गिरीले भने, ‘तर, संशोधन प्रस्ताव परिमार्जन हुने स्थिति नहुँदासम्म हामी सरकारमा प्राविधिक रूपमा भए पनि थप रूपमा जाने अवस्था आइसकेको छैन ।’
प्रधानमन्त्रीको तयारी के ?
मधेसी दललाई पनि समेट्ने र राप्रपालाई थप मन्त्रालय दिने गरी मन्त्रिपरिषद् विस्तारको तयारी प्रधानमन्त्री प्रचण्डको छ । संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पारित गराउन प्रचण्डले विधेयकको खुलेर समर्थन नगरेका दलका नेतालाई मन्त्री बनाउन लागेका हुन् ।
प्रचण्डले राप्रपा अध्यक्ष कमल थापालाई अघिल्लो सरकारमा पाएकै जिम्मेवारी दिने गरी र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव राखेका थिए । सुरुमा थापा र गच्छदारले प्रधानमन्त्रीलाई सकारात्मक जवाफ दिएका थिए । तर, बिहीबार हुने मन्त्रिपरिषद् विस्तारमा राप्रपा र फोरम लोकतान्त्रिक पार्टीका कुनै नेताहरू छैनन् ।
प्रधानमन्त्री दुवै दलसँग छलफलमै छन् । ‘प्रधानमन्त्री मधेसकेन्द्रित दल र अन्य दलका तर्फबाट पनि सरकारमा सहभागी गराउने र सरकारलाई बलियो बनाएर निर्वाचनमा जाने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘छलफल अझै जारी छ ।’



