बिर्तामोड ७ माघ । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरका अस्मिता तोलामी सार्की र सोही स्थानका ईश्वर भट्टराईले शुक्रबार बिहान एकै ठाउँमा आत्महत्या गरेका छन् । कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २० वर्षीया तोलामी र उनकै छिमेकी २२ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् । आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा प्रेम सम्बन्धका कारण यस्तो निर्णय गरेको हुनुपर्ने प्रहरी नायव उपरीक्षक थेवेले बताए ।
माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको थियो । उनी स्थानीय भृकुटी उच्च मावीमा अध्ययनरत थिइन् ।
समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन । त्यसैले यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । मृतक भट्टराई भने सवारी चालकको काम गर्दै आएका थिए । उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन् ।



