काठमाडौं, ८ माघ । सूूर्तीजन्य पदार्थ बिक्री वितरणका लागि छुट्टै अनुमति लिनुपर्ने व्यवस्था लागू हुने भएको छ। धूमपान तथा सूर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण गर्ने उद्देष्यले यो व्यवस्था गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनमा व्यवस्था भएको विषयलाई कडा ढंगले कार्यान्वयन गर्न लागिएको जानकारी दिए । सूर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने छुट्टै पसल वा स्वीकृत लिएर मात्र बिक्री गर्नुपर्ने हुन्छ’, मन्त्री थापाले भने, ‘यो व्यवस्थाले सूर्तीजन्य पदार्थ रोकथाममा महत्वपूर्ण भूमिका खेल्नेछ।’ त्यस्ता पसलहरुले फागुन मसान्तसम्ममा स्वीकृती लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ मा सरकारले सूर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्नसक्ने कानुनी व्यवस्था गरेको छ। उक्त ऐन अनुसार सूर्तीजन्य पदार्थको विक्रीवितरणसम्बन्धी कारोबार गर्न अनिवार्य रुपमा दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै सूर्तीजन्य पदार्थको कारोबार गर्ने इजाजत लिएर छुट्टै पसलबाट मात्र बिक्री गर्नुपर्ने हुन्छ ।
मन्त्री थापाले स्वीकृत नलिई तथा इजाजतपत्र नलिई आउँदो चैत १ गतेदेखि सूर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा सूर्तीजन्य पदार्थ नियन्त्रण ऐन अनुसार कारबाही गरिने जानकारी पनि दिए । इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका तथा गर्भवतीलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना पनि टाँस्नुपर्ने छ।
ऐनमा दैनिक उपयोग्य वस्तु बिक्री गर्ने स्थानमा सूर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न नपाइने व्यवस्था रहेको छ । सोको अनुगमन गर्न सरकारले हरेक जिल्लाका सहायक प्रजिअलाई निरीक्षकका रुपमा तोकेको छ।
विभिन्न समस्याले गर्दा ऐन कार्यान्वयन अझै चुनौतीपूर्ण देखिएको छ । ऐनमा सरकारी भवन, स्वास्थ्य संस्था, सार्वजनिक सवारी साधन, उद्योग तथा कलकारखाना, होटल, धार्मिक स्थल लगायतका क्षेत्रहरुमा धुमपान गर्न नपाइने व्यवस्था उल्लेख गरिएको छ । सूर्तीजन्य चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खालगायत हरेक स्थानमा सार्वजनिक रुपमा बिक्रीवितरण हुँदा महिला र बालबालिकाका स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।



