काठमाडौं, १० माघ । माओवादी पार्टी व्यक्तिवादलगायत मनपरीतन्त्रबाट ग्रस्त भएको भन्दै नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराईको शैलीले पुरानो पार्टीलाई नै माथ खुवाउन लागेको भन्दै पार्टीमा चिन्ता बढ्न थालेको छ ।
साँघु साप्ताहिकमा खबर छ– भट्टराईले पार्टीका विभिन्न जनवर्गीय संगठन आफ्नो स्वार्थ अनुरुप हिँडाउन खोजेपछि यस्तो चिन्ता नयाँ शक्तिका नेता÷कार्यकर्तामा बढ्न पुगेको हो । भट्टराईले पछिल्लो समय पार्टीको युवा भातृ संगठन राष्ट्रिय युवा अभियानको महाधिवेशन स्थगितको निर्णय गरिदिएपछि युवाहरु त बाबुरामसँग आगो बन्न पुगेको खबर छ ।
भट्टराईले २०७३ माघ २१ गतेका लागि तय भएर सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय युवा अभियानको महाधिवेशन अन्तिम समयमा आएर पार्टीमा निर्ण गराएर स्थिगित गराएका हुन् । स्वतन्त्र प्रतिस्पर्धामा जोड दिँदै आइरहेका बाबुरामले युवा अभियानको महाधिवेशन रोक्नकै लागि २०७३ चैतसम्म कुनैपनि भातृ संगठनको महाधिवेशन गर्न नपाइने निर्णय पार्टी केन्द्रीय समितिबाट गरेका छन् ।
बाबुरामले यस्तो निर्णय पार्टीबाट गराएसँगै नयाँ शक्ति आवद्ध युवाहरुले युवा संगठनको नेतृत्व लिन धेरै युवाहरु तम्सिएकाले उनले यस्तो निर्णय लिएको बताएका छन् । नयाँ शक्ति स्रोतका अनुसार, पार्टीको युवा संगठन हाँक्ने भन्दै आधा दर्जन नेता अघि सरेका थिए ।
‘पार्टीमा उच्च प्रतिस्पर्धा गराएर नेतृत्व छनौट गर्ने मत राख्दै आएक बाबुराम युवा संगठनमा कडा प्रतिस्पर्धा हुने देखिएपछि महाधिवेशन रोक्ने निर्णयमा पुगेका हुन्,’ नयाँ शक्ति स्रोतले भन्यो, ‘पार्टीको यो निर्णयले प्रतिस्पर्धामा विश्वास राख्ने नेता तथा कार्यकर्तामा आघात परेको छ ।’



