भाइटीकामा दाजुभाइले दिदीबहिनीलाई उपहार दिने चलन सामान्य नै हो। तर पाइलट दिदीभाई कोमल र शुभवको हकमा यो नियम लागू हुँदैन।

पाइलट कोमल बस्नेत हरेक तिहारमा पाइलट भाइ शुभवलाई पनि उपहार दिन्छिन्। कहिले लुगा त कहिले मोबाइल फोन।

शुभव पनि दिदीलाई आश्चर्य पार्ने के उपहार दिने भनेर तिहार आउनु एक महिना अगाडिदेखि योजना बुन्न सुरु गर्छन्। पाइलट दिदीभाइबीच यो वर्ष पनि भाइटीकाको तयारी छ। यो पटक भने उनीहरुको टीका लगाउने स्थान सरेको छ। काठमाडौंबाट नयाँ दिल्ली।

११ वर्षदेखि पाइलट पेशामा रहेकी कोमल हाल दिल्लीमा छिन्। इन्डिगो एयरमा कार्यरत उनको हातबाट टीका थाप्न शुभव बिहीबार नै दिल्लीतिर लागेका छन्। दुई हप्ता अघि मात्र इन्डिगोसँग जोडिएकी कोमलले तिहारमा घर आउने समय नपाएपछि शुभव दिल्ली उडेका हुन्।

‘सकेसम्म निधार खाली राख्न मन लाग्दैन,’ शुभव भन्छन्, ‘दिदी त मेरो साथीजस्ती हुनुहुन्छ, त्यसैले पनि भाइटीकामा भेट्न जाँदैछु।’

सानैदेखि सँगै हुर्केका र एउटै पेशामा रहेका उनीहरु एक अर्कालाई तिहारमा आवश्यकता हेरी–हेरी उपहार दिन्छन्।

‘दिदीले यसपाली तिहारमा नयाँ फोन दिने भन्नुभएको छ,’ शुभवले सुनाए, ‘म पनि दिदीलाई मनपर्ने उपहार लिएर जाँदैछु।’

दिदीलाई ‘सप्राइज’ दिने भन्दै उनले त्यसको नाम भने खुलाउन मानेनन्। तिहारमा पाइलट दिदीभाइले एक अर्कालाई आवश्यकता हेरी कपडा, फोन, टिभी, गाडी उपहार आदान–प्रदान गर्ने गरेका छन्।

अमेरिका जाँदा छुट्यो भाइटीका
६ वर्षको उडान अनुभव बटुलेका शुभव र एक दशकभन्दा बढी यही क्षेत्रमा रहेकी कोमलले अहिलेसम्म २ पटक भाइटीका छुटाएका छन्।

‘मैले अमेरिकामा पाइलट ट्रेनिङ लिँदै गर्दा पहिलो पटक भाइलाई टीका लागाइदिन पाइनँ,’ कोमलले नेपालखबरसँग भनिन्, ‘परिवारबाट टाढा अरुको देशमा नरमाइलो लाग्थ्यो। त्यसमाथि एक्लो भाइलाई टीका लाइदिन नपाउँदा झन धेरै मन खिन्न भएको थियो।’

दोस्रो पटक शुभवले पाइलट ट्रेनिङ लिन फिलिपिन्स जाँदा यी दुईको टिका छुट्यो। ती बाहेक हरेक भाइटीकामा शुभव र कोमलसँगै छन्।

एटिसी ठूलोबुबाबाट प्रेरित
उमेरको फरक दुई वर्ष मात्र भएकाले होला कोमल र शुभव बस्नेत दिदीभाइ कम र साथी बढीजस्ता छन्। सँगै स्कुल आउजाउ गर्ने दुईबीच झगडा नपरेको दिन हुँदैनथ्यो। तर झगडा परे पनि दुबैलाई खुब मनपर्ने आइसक्रिम खान सँगै जानुपर्ने। कम्प्युटरमा दुबै उडानसम्बन्धी नै खेल खेल्थे। खेल्दाखेल्दै दुबैले कहिलेदेखि पाइलट सपना देख्न थाले, उनीहरुले थाहै पाएनन्।

‘ठूलोबुबा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) भएकाले हामी विमानस्थल गइरहन्थ्यौं,’ कोमलले भनिन्, ‘विमानस्थल जाँदा, विमान उडेको देख्दा खुसी लाग्थ्यो। त्यसैले पनि होला पाइलट पेसातर्फ आकर्षित भएको।’

शुभवले दिदीको कुरामा सही थपे, ‘ठूलोबुबाले गर्दा केही हदसम्म यो पेसातर्फ झुकाब बढ्यो।’

बस्नेत परिवारमा कोमल र शुभव मात्र हैन अन्य दुई पाइलट समेत छन्। कोमलका पति पनि पाइलट नै हुन्। शुभवले विवाह गर्न तयारी गरेकी युवती पनि पाइलट नै हुन्। उनीहरुबीच जनवरीमा विवाह हुँदैछ। घरमा कहिलेकहीँ चारैजना भेट हुन्छन्। हवार्इ उडानका गफ चल्छन्।

‘हामी ४ जना गफमा व्यस्त हुँदा दिदी, बुबा र आमा चाहिँ तिमीहरु आफ्नै मात्रै कुरा गर, हामी हिँड्यौँ भन्नुहुन्छ,’ कोमल सम्झिन्छिन्।

कोमलको उडान यात्रा
छोराभन्दा छोरीलाई बढी महत्व दिने परिवारमा हुर्केका थिए कोमल र शुभव। ‘हाम्रो परिवार अलि फरक छ,’ कोमल भन्छिन्, ‘पहिले छोरीले भनेको कुरा पूरा हुन्छ अनि मात्र छोराको पालो आउँछ।’

त्यसैले नै पाइलट बन्ने चाहना कोमलको पहिले पूरा भयो। पाइलट ट्रेनिङ लिन उनी सन् २००६ मा अमेरिकाको टेक्सास गइन्। ट्रेनिङको दौरान इन्स्ट्रक्टर पाइलट बिना एक्लैले विमान उडान गर्दाको समय सम्झँदै उनी भन्छिन, ‘जिन्दगीमा धेरै खुसी त्यतिबेला लागेको थियो।’

ट्रेनिङ सकेलगत्तै उनी नेपाल फर्किइन। जागिरका लागि ट्रेनिङमा जानुअघि नै बुद्ध एयरमा कुरा भइसकेकाले नौ महिने तालिम सकेर नेपाल फर्केलगत्तै उनले काम पाइन्। १ अप्रिल २००८ का दिन उनले काठमाडौँदेखि सिमरासम्म पहिलो व्यवसायिक उडान भरिन्। ११ वर्ष बुद्ध एयर उडान गरेकी उनी हाल भारतको निजी लगानीको इन्डिगो एयरमा क्याप्टेनका रुपमा कार्यरत छिन्।

पाइलट शुभव २ वर्ष बेरोजगार
छोरी पाइलट बनेपछि परिवारमा खुसी छाएको थियो। दिदीले विमान उडाएपछि शुभवमा पनि पाइलट बन्ने चाहना झनै तीव्र भयो। त्यसैले उनी सन् २००९ मा तालिम लिन फिलिपिन्स गए। तालिम अवधिभर फोनबाटै भएपनि कोमलले भाइलाई ध्यान दिनुपर्ने विषयमा सल्लाह दिइरहन्थिन्। शुभव तालिम सकेर २०१० मा नेपाल फर्किए। तर तालिमपछि काम पाउन उनले करिब दुई वर्ष पर्खिनुपर्यो।

‘त्यो समयमा आफन्तहरु भेट भए कि तिमी कहिलेदेखि प्लेन उडाउने भनेर सोध्थे,’ उनले भने, ‘त्यस्ता अनगिन्ती प्रश्न छल्न मैले आफन्तसँग निकै कम भेटघाट गरेँ।’

अन्ततः उनले बुद्ध एयरमा काम पाए र २०१२ को अक्टोबर १८ मा काठमाडौँ–भैरहवा पहिलो उडान भरे।

‘पहिलो उडान गर्न पाउँदा अत्यन्त उत्साही थिएँ, डर पनि लागेको थियो,’ शुभव भन्छन्, ‘ट्रेनिङमा दुई सिटे विमान उडाएको, यहाँ ठूलो विमान उडाउनुपर्दा सुरुमा मुस्किल भयो। पढेजस्तो नहुने रहेछ।’

शुभव हाल बुद्ध एयरमा जुनिएर क्यापटेका रुपमा कार्यरत छन्।

पाइलट शुभव दिदीलाई आफ्नो आदर्श मान्छन्। यी दिदीभाइको सम्बन्धमा पहिलेदेखि अहिलेसम्म कत्ति पनि फरक आएको छैन। उनीहरु एक आर्काको तारिफ गरेर कहिलै थाक्दैनन्।

‘मैले जे भनेपनि भाइले मान्छ’, कोमलले भनिन्, ‘उडानमा समस्या आउँदा पनि हामी छलफल गर्छौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah