काठमाडौं, २० माघ । स्थानीय तहको निर्वाचनमा नैतिक पतन देखिने फौजदारी कसुरमा जन्मकैदको सजाय भएका मात्र उम्मेदवार बन्न अयोग्य हुने भएका छन् ।
आजको राजधानी दैनिकमा खबर छ– नेपालको कानुनले २० वर्षलाई जन्मकैद मानेको छ । अब १९ वर्ष ११ महिना जेलसजाय पाएका व्यक्तिले पनि निर्वाचनमा उम्मेदवारी दिन पाउने भएका छन् ।
स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयकलाई परिमार्जन गर्ने क्रममा राज्य व्यवस्था समितिले यस्तो व्यवस्था राखेर बुधबार संसद्मा प्रतिवेदन पेस गरेको छ ।
‘राजनीतिक नेता उच्च नैतिक चरित्र हुनुपर्छ भन्ने कानुनले नै व्यवस्था गरेको छ । तर, नैतिक चरित्र नै खराब भएको व्यक्ति एक दिन जेल पर्दा पनि अनैतिक नै हुन जाने हुन्छ’, वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले भने । उलने भने, ‘एक दिन पनि नैतिक पतन भएको व्यक्तिलाई सार्वभौमसत्ता हस्तान्तरण गर्नु उचित हुँदैन ।’
विधेयकको दफा १३ को खण्ड (च)मा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उम्मेदवारका लागि अयोग्य भन्ने कुरालाई परिमार्जन गर्दै कसुर र सजाय पाई भन्ने शब्द पछि कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई भन्ने शब्द थप गरिएको छ ।



