बिष्णुप्रसाद पोखरेल
दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बद्नियतपूर्वक मूलकलाई अप्ठेरो अवस्थामा धकल्ने प्रयास भइरहेको र यसले गम्भिर संकट निम्त्याउन सक्ने बताउनु भएको छ । उहाँले सरकार संबिधान कार्यन्वयनभन्दा पनि नेकपा एमालेलाई परास्त गर्ने छलछाममा लागेको जनाउदै यो सम्भव नभएको बताउनु भयो ।
शुक्रबार नेकपा एमाले प्रदेश नं. १ को बैठकलाई झापाको दमकमा सम्बोधन गर्दै ओलीले निर्वाचनको मिति घोषणा गर्नुको सट्टा निर्वाचन आयोगलाइ तयारी रहन भन्नु हास्यश्पद भएको बताउनु भयो । उहाँले भन्नुभयो–‘निर्वाचन आयोगको काम नै निर्वाचन गराउनु हो र त्यो निकाय सधै निर्वाचनका लागि तयारी नै रहेको हुन्छ ।’ ओलीले राजनीतिक र संबैधानिक संकट ल्याउने खेल अरु कसैको इशारामा भइरहेकाले यो हुन नदिन एमाले सचेत रहेको जनाउनु भयो ।
निर्वाचन नगराउने खेल बिरुद्ध र देशलाई नयाँ गति दिनका लागि एमाले लाग्ने ओलीको भनाइ रहेको थियो । मूलकलाई भारतबेष्टितबाट मुक्त गराएर वास्तविक रुपमा भुपरिवेष्टित बनाएको भन्दै अब कसैसंग पनि डराउनु र झुक्नु पर्ने अवस्था नरहेकाले गर्वका साथ बिश्वका जुनसुकै देशसंग पनि सिधै सम्पर्क स्थापित भएको ओलीको भनाइ थियो । ओलीले भन्नुभयो–‘मुलकलाई भारतको मुठ्ठिबाट अर्थात भारतलक्डबाट मुक्त गराउन सफल भएका छौ र हामी दुनियाका जुनसुकै देशसंग पनि सोझै सम्पर्क स्थापित गर्न सक्छौ ।’
ओलीले अब नेकपा एमालेले फागुण २१ गतेदेखि कसैले कल्पना नगरेको जनशक्ति प्रदर्शन गर्ने र यसले देशको अहित चाहने सबैलाई परास्त गर्ने दाबी गर्नु भयो । राजमार्ग केन्द्रित हुने शक्ति प्रदर्शनबारे जानकारी दिदै ओलीले भन्नुभयो–‘नेकपा एमालेले यति ठूलो प्रदर्शन न कहिल्यै गरेको छ र न कहिल्यै गर्नुपर्छ हामी यसलाई त्यति भब्य बनाउने छौ ।’
बिपक्षिदलका नेता समेत रहनु भएका ओलीले यति ठूलो शक्ति प्रदर्शन अरु कसैले पनि कल्पना नगरेको र त्यो अहिले एमालेले मात्र गर्न सक्ने जनाउनु भयो । मेचीको काकडभिट्टाबाट शुरु भएर महाकालीमा गएर सम्पन्न हुने यस जनशक्ति प्रदर्शनमा पार्टीका हरेक नेता कार्यकर्ता देखि लिएर समर्थकसम्मको सहभागिता रहने ओलीको भनाई थियो ।
यसलाइ आफ्नो पार्टीले महाअभियानको रुपमा अघि बढाउने जनाउदै ओलीले यसले राष्ट्रिय राजनीतिमा अकल्पनीय उतारचढाव ल्याउने दाबी गर्नु भयो । अभियानको बारे प्रष्ट पार्दै ओलीले भन्नुभयो–‘जगाउनु पर्नेहरुको आत्मबल जगाउछ, मनोबल खसाउनु पर्नेको मनोवल खसाउछ र एउटा नयाँ जारणको शुरुवात हुनेछ ।’ प्रदुषित बिचारहरुलाई भेलले बगाएजस्तो बगाउनका लागि आफूहरुको अभियान सफल हुने जनाउदै एमाले बिरुद्ध चलाइएका भ्रमहरुलाई परास्त गर्ने ओलीले दाबी गर्नु भयो ।



