काठमाडौं, २४ माघ । सीके राउतले ‘मधेस छुट्टै स्वायत्त राज्य हुनुपर्छ’ भन्ने मागलाई चर्काउँदै लगेपछि उनीमाथि राज्य विप्लवको मुद्दा लगाउनुपर्ने आवाज चर्को रुपमा उठ्न थालेको छ । पछिल्लो समय राउतले उग्ररुप लिएपछि सरकारले पक्राउ गरेर उनको बिखन्डनकारी कदमलाई रोक्ने प्रयास गरिरहेको छ । तर, यिनै सीके राउतका कार्यकर्ता भने मधेसमा धमाधम सरकारी बजेटमै लाभान्वित भइरहेको खबर छ ।
साँघु साप्ताहिकमा खबर छ– प्रसंग, सूचना तथा सञ्चार मन्त्रालयले मधेसी पत्रकार संघलाई दिएको २० लाख रुपैयाँ सहयोग र त्यही सहयोगमा संघले मधेसका विभिन्न जिल्लामा सञ्चालन गरेको ‘न्यू मिडिया एण्ड रुलर जर्नालिज्म’ विषयक तालिमको हो ।
संघले नवप्रवेशी पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि भन्दै यस्तो तालिमको आयोजना गरेको भएपनि यसको व्यापक दुरुपयोग भएको थाहा भएको छ ।
नव प्रवेशी पत्रकारहरुका लागि लक्ष्य गर्दै तालिम आयोजना गरिएको भए पनि अधिकांश तालिम सीके राउतका कार्यकर्ताले लिएका छन् । स्रोतका अनुसार, मधेसी पत्रकार संघका सचिव बीपी साहले योजनाबद्ध रुपमा सीके राउतका कार्यकर्तालाई अवसर दिएर सरकारले दिएको बजेट दुरुपयोग गर्दै तालिम दिएको खबर छ ।
साह राउतनिधट पत्रकारका रुपमा मधेस वृत्तमा चिनिन्छन् । उनी तालिमका मुख्य ट्रेनर थिए ।
‘मधेसी पत्रकार संघले विभिन्न जिल्लामा सञ्चालन गरेको तालिममा सीके राउतका कार्यकर्तालाई तालिम दिइएको छ,’ विराटनगरमा रहेर काम गर्ने एक पत्रकारले भने, ‘सीके राउतनिधट मानिने बीपी साहले योजनाबद्ध रुपमा सरकारको बजेट दुरुपयोग गरे पनि कसैले यसतर्फ चासो दिएका छैनन् ।’



