काठमाडौं, २६ माघ । प्रधानमन्त्री पुष्पकलम दाहाल आफ्नो गृह जिल्ला चितवनका विभिन्न तीन वटा कार्यक्रममा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रमुख विपक्षी दल एमालेसँगको चिसिएको सम्बन्ध सुधार गर्नुपर्ने माग उठीरहेका बेला प्रधानमन्त्री दाहाल भने जिल्लाका झिनामसिना कार्यक्रममा भाग लिन चितवन प्रस्थान गरेका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री दाहाल जम्बो टोली लिएर चितवन प्रस्थान गरेको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्री दाहालले चितवनको मंगलपुरको एउटा र भरतपुरका दुई वटा कार्यक्रममा सहभागिता जनाउने छन् ।
फागुन १० गतेसम्मका लागि संसद स्थगित गरेका प्रधानमन्त्री दाहालले सो अवधीमा प्रमुख दलहरूसँग कुराकानी गरेर निकास निकाल्ने बताइएको थियो ।
तर, संसद स्थगित भएको तीन दिन भइसक्दा समेत औपचारिक रुपमा कुनै सम्वाद हुन सकेका छैनन् ।
दोस्रो तहका नेताहरूले सम्वाद गरे पनि त्यसले ठोस रुप पाउन सकेको छैन ।



