भक्तपुर, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले वर्तमान सरकारले जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेका साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले राप्रपा जेठमा निर्वाचनको पक्षमा भएपनि सरकार निर्वाचन गर्ने पक्षमा नभएको बताए ।
मधेसी मोर्चाको संविधान संशोधनको मागलाई कुनै पनि हालतमा एमालेले पारित हुन नदिने र अर्कातर्फ सरकारले मधेशी मोर्चालाई माग सम्बोधन गर्ने प्रतिवद्धता जनाइसकेकाले निर्वाचन असम्भव भएको उनले बताए ।
उनले मधेसवादी दललाई बाइपास गरेर निर्वाचन सम्भव नभएको बताउँदै दुई दशकदेखि हुन नसकेको निर्वाचन यथाशीघ्र यही सरकारले गर्नुपर्ने उल्लेख गरे ।
ठूला पार्टीले देशलाई दिशा दिन नसक्दा देश कता जाने के गर्ने अनिर्णयको बन्दीमा फसिरहेको बताउँदै ठूला राजनीतिक दलहरु जिम्मेवार भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । चुनाव हुने वा नहुने संकटमा परेको उनले बताउँदै निर्वाचन नभए मुलुक संवैधानिक संकटमा फस्ने बताए ।
उनले तत्काल निर्वाचनको मिति घोेषणा गर्न माग गर्दै सरकारले भूकम्पपीडितको लागि केहि काम गर्न नसकेको बताए । सरकारले पुनःनिर्माणको कार्यलाई अगाडि बढाउन नसक्दा जनता निराश भइरहेकाले तत्काल पुनःनिर्माणको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गरे । भूकम्पपीडितलाई बाँडिएको किस्ताले नेपाली जनतालाई अपुग भएको उनले बताए ।
उनले राप्रपा सरकारबाट बाहिरिने हल्ला मात्र भएको बताउँदै राप्रपाले सरकारबाट बाहिरिने कुनै निर्णय नगरेको बताए । उनले को नेताले कहाँ गएर के भन्छ भनेको भनाइलाई सरकारबाट फिर्ता बोलाउन नसकिने बताए । उनले पार्टीले सरकारबाट फिर्ता बोलाउने आधिकारिक निर्णय गरिनसकेको बताए ।



