काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि माओवादीबाट अलग भएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग परामर्श गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि आफुले चाल्ने कदमका विषयमा उनले भट्टराईको सल्लाह लिएका छन् । उनले समस्या समाधानका लागि जति प्रयास गरेपनि आफुले गरेजस्तो नेदेखिएको र केही जटिलताका कारण अप्ठ्यारोमा परेको बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा संविधान संशोधन, निर्वाचनको मिति घोषणा, स्थानीय तह पुनर्संरचनालगायत सम्पूर्ण बिषय प्याकेजमा समाधानका लागि गपरामर्श गरेका थिए । छलफलका क्रममा भट्टराईले मधेसी मोर्चाको सहमतिमा एमालेलाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भएको छलफलमा आगामी जेठ २० गतेभित्र हुने गरी स्थानीय निर्वाचनको मिति फागुन पहिलो साता घोषणा गर्ने बताएका छन् ।
भेटपछि नयाँ शक्ति नेपालले विज्ञप्ती निकालेर संविधान संशोधन, स्थानीय तह, प्रदेशको पुर्नसंरचना, निर्वाचन लगायतबारे दुई नेताबीच कुराकानी भएको जानकारी दिएको छ । भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा कम भएको भन्दै बढाउन आग्रह गरेका थिए ।
बृहत्तर जनकपुरको विकास लगायतका माग राखी अनसनमा बसेका नयाँ शक्तिका नेताद्वय रामकुमार शर्मा र कलामुद्दिन राइनको माग सम्बोधनका लागी पनि पहल गरिदिन प्रधानमन्त्री दाहाललाई संयोजक भट्टराईले आग्रह गरेको विज्ञप्तीमा जनाइएको छ ।



