दमक/झापामा दमकलाई बुद्ध जन्मेको पवित्र तीर्थस्थल लुम्बिनी, पर्यटकीय स्थल पोखरा, नेपालकै होचो भूभाग केचनालाइ जोड्दै दमकलाई अन्तराष्ट्रिय बुद्ध सर्किटसंग जोडने बिषयमा राजधानीमा छलफलमा भएको छ । संसारकै अग्लो बुद्धको मूर्ति स्थापना हुने दमकलाई अन्तराष्ट्रिय बुद्ध वृत्तसँगजोडिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कार्यक्रम अघि बढाईएको नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नं. ७ का सासद केपी शर्मा ओलीले बताए ।
साढे १५ अर्बको लागतमा निर्माण हुने बुद्ध मूर्ति तथा बुद्ध पार्क निर्माणसम्बन्धी परियोजनाको बिषयमा काठमाडौंमा ओली सहित सरोकारवालाहरुसंग छलफल भएको हो । विश्वकै अग्लो बुद्ध मूर्ति १ सय ९८ मिटर अग्लो हुने छ । कार्यक्रममा ओलीले झापाको दमकमा निर्माण हुन लागेको बुद्धको प्रतिमा विश्वकै अग्लो हुने दाबी गर्दै यसले यहाँको पर्यटन बिकासमा ठूलो टेवा पुग्ने बताए । यसले विश्व शान्तिको सन्देश दिने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले ३६ विगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको विराट बौद्ध प्रतिमाको काम चाँडै सुरु हुने र यसको तयारीमा अब जुटिसकेको बताए । आर्थिक वर्ष २०७२÷७३ को सरकारको नीति तथा कार्यक्रममा समेत परि सकेको योजना भएकाले यो सरकारको योजना हो । गत चैत १ गतेको मन्त्री परिषद बैठकले समेत दमकमा संसारकै अग्लो बुद्धमूर्ती सहितको पार्क निर्माण गर्ने निर्णय गरि सकेको छ ।



