भद्रपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले विदेशी पर्यटन भित्राउन देशमा थप हवाई सेवा विस्तार गर्नुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले पर्यटन भित्राउन झापा ट्रान्जिट पोइन्ट रहेको बताउँदै भद्रपुर विमानस्थलको सेवालाई थप विस्तार गर्न मन्त्रालय लागि परेको उल्लेख गरे । काठमाडौं–भद्रपुर–काठमाडौ हवाई सेवा प्रदान गर्दै आइरहेको भद्रपुर विमानस्थलबाट चाँडै पोखरा–भद्रपुर हवाई सेवा सञ्चालन गरिने उनको भनाई छ ।
‘भारतको दार्जिलिङ्ग, सिक्किम जाने विदेशी पर्यटकलाई इलाम वा ताप्लेजुङ्ग पठाउन झापा नै ट्रान्जिट पोइन्ट मानिन्छ, मन्त्री अधिकारीले भने, “यहाँ सुविधासम्पन्न विमानस्थल पनि छ, ‘तर, “झापामा पर्यटकिय गन्तव्य क्षेत्रको पहिचान गरी त्यस अनुरुप विकास गर्न नसक्दा विदेशी पर्यटन भित्राउन सकिरहेका छैनौ, त्यसैले झापामा पर्यटन भित्राउन सबै निकाय लाग्नु पर्छ ।”
अहिले सरकार पर्यटन भित्राउन अन्तराष्ट्रियस्तरमा हवाई सेवा विस्तार गर्न लागिपरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल एयरलाइन्सको जहाजले केही देशमा अन्तराष्ट्रिय हवाई सेवा सुरु गरेको छ र यस सेवालाई अन्य देशमा पनि थप विस्तारका लागि सरकार लागिपरेको छ ।’ तर, नेपाल एयरलाइन्सको प्रभावकारी सेवाको विरुद्ध केही तत्व लागि परेको उनको आरोप छ ।
संसद अवरुद्धको प्रसंगमा बोल्दै मन्त्री अधिकारीले भने, ‘संसद अवरुद्ध गर्नु भनेको लोकतन्त्र अवरुद्ध गर्नु हो, प्रक्रिया र पद्धतिहरुलाई अवरुद्ध गर्नु हो ।’ ‘त्यसैले प्रतिपक्षले मुलुकको भविष्यलाई अवरुद्ध गर्नु हुदैन, उनले भने, ‘देशमा अर्को चुनाव आउँला, त्यस बेला अरुले जित्ला, संसद अवरुद्ध गरेर लोकतन्त्रलाई बन्देज लगाउनु हुर्दैन् ।’










