काठमाडौँ– सरकारले १५ औँ अनशनका क्रममा आफूसँग गरेको सम्झौता चिकित्सा शिक्षा विधेयकमा अक्षरश आउनुपर्ने मागसहित डा.गोविन्द केसी १६ दिनदेखि आमरण अनशनमा बसेका छन् ।

पुष २५ गते पूर्वी नेपालको इलाम जिल्लाबाट सुरु भएकोा डा.केसी १६ औँ अनशन संघीय राजधानी काठमाडौँमा जारी छ । अनसनको १६ औं दिन पुग्दा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । १५ औं सत्याग्रहमा भएको सम्झौता अक्षरश कार्यान्वयनसहित विधेयक पारित हुनुपर्ने मागमा केसी अडिग छन् । आज डा.केसीले सांसदहरुलाई चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन माग गर्दै सार्वजनिक पत्र लेखेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले त्रिवि शिक्षण अस्पतालबाट पत्र लेखेको पत्रमा नेपाल सरकारले पछिल्लो पटक १५ औं अनसनमा गरेको सम्झौंता बमोजिमको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित हुनेछ भन्ने आशा र विश्वास रहेको उल्लेख गरेका छन् ।

यस विषयमा सरकार र प्रतिपक्षी काँग्रेसबीच आरोप प्रत्यारोप निकै चलेको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विद्येयक संसदमा प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो ।

त्यसयता सत्तासीन दलका सांसद र काँग्रेस सांसदबीच निकै जुहारी चलेको छ । सत्तारूढ दल नेकपाका स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराई र काँग्रेस सांसद गगन थापा आरोप प्रत्यारोपमा उत्रिएका छन् । उनले संसदमा पेस भएको ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ अन्य विधेयक जस्तो नभएका दाबी गरेका छन् ।

भट्टराईले चिकित्सा शिक्षा विधेयक भोली बस्ने संसद बैठकबाट पारित भएरै छाड्ने दाबी गरिरहेका छन् भने डा. केसीसँग गरिएको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक आउन लागेको भन्दै थापा रोकेरै छाड्ने दाबी गर्छन् । तर, थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोली बस्ने संसद बैठकमा मुठभेड पनि हुनसक्ने खतरा औल्याएका छन् ।

यसो भन्छ काँग्रेस

पार्टी कार्यालय सानेपामा बिहीवार प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइको दम्भमा रातो झन्डा ओढाएर विवेकलाई कात्रो नओढाउन सुझाव दिए । ‘संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजे कांग्रेस सशक्त भएर त्यसको प्रतिवाद गर्छ,’ उनले भने, ‘डा.गोविन्द केसीको सत्याग्रहलाई लात हानेर विगतमा गरिएको सहमति विपरित विधेयक पारितका लागि बहुमतलाई रातो झन्डा ओढाएर विवेकलाई कात्रो नओढाउन सरकारलाई सुझाव छ ।’

सरकारले प्रतिपक्षीलाई बाइपास गरेर जान खोजे आफूहरु गीताको श्लोक सुनाएर नफर्किने बताए । प्रधानमन्त्रीलाई प्रतिक्षा गर्नु नै सरकारका लागि उत्तम विकल्प भएको भन्दै उनले प्रधानमन्त्रीको प्रतिक्षा गर्न संसदलाई आग्रह गरे । काँग्रेसले डा.केसीको अनसनलाई केन्द्रीय कार्यसमितिमा छलफलको विषयसमेत बनाएको छ ।

सरकार के भन्छ ? यता सरकारले विधेयक संसदमा प्रस्तुत गर्न नदिएर कांग्रेसले गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटले भने, ‘सरकारले प्रस्तुत गरेको विधेयक समितिबाट पास भएर आएको छ । यो अब प्रक्रियाबाट पास हुन्छ । हुनुपर्छ । डा.केसीले समितिबाट पास भएको विधेयक राम्रोसँग पढ्नुभएको छैन जस्तो छ । उहाँलाई पढाउनेहरुले गलत कुरा पढाइ दिएका छन् । हामी उहाँलाई राम्रोसँग पढ्न आग्रह गर्छौँ ।’

उनले भने, ‘काँग्रेसले दुईतिहाइको दम्भ भने भन्नुस । तर भोलीको संसद बैठकबाट विधेयक पारित हुन्छ ।’ मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयक डाक्टर केसीसँग भएका सम्झौताभन्दा एक कदम अघि बढेर आएको दाबी गरे ।

त्यस्तै अर्को एक कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा.केसीले संसदीय सर्वोच्चता स्वीकार्दै आफूसँग भएको सम्झौता जस्ताको तस्तै लागू हुनुपर्छ भन्ने हठ त्याग्नुपर्नेे बताए । उनको कुराले पनि सरकार डा.केसीप्रति कठर बन्दै भएको संकेत गर्दछ ।

यस्तो छ सभामुखको तर्क चिकित्सा शिक्षा विधेयकलाई लिएर सरकार र प्रतिपक्षीबीच होडबाजी चलिरहेका बेला प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक रोस्ट्रमबाट नै प्रस्तुत हुने बताएका छन् । बिहीवार पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख महराले विधेयक संसदीय प्रक्रियाअनुसार नै टुंग्याइने बताएका हुन् ।

चिकित्सा शिक्षा विधेयक प्रक्रियाअनुसार नै टुंग्याउनुपर्ने भन्दै सभामुख महराले के हुन्छ भन्ने कुरा भोलीनै थाहा बताए । डा.केसीको अनसनलाई सम्बोधन नगरी किन हतारमा विधेयक ल्याएको भन्ने प्रश्नमा सभामुख महराले भने, ‘यो सरकारले सोच्ने कुरा हो । प्रतिपक्षीलाई चित्त बुझाएर विधेयक आउनुपर्छ । म आशावादी छु ।’

रातो पाटि बाट