झापा । जिल्ला अदालत झापा परिसरको पछिल्लो भागमा बाक्लो झाडी र जंगल जस्तै छ, त्यसको वरपर भित्तामै टाँसिएको अवस्थामा रक्सीका खाली बोतल झरपस्ट देखिन्छ । अदालत नजिकै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयको पछाडि पनि एकै ठाउँमा थुपारिएर राखिएका रक्सीका बोतल सजिलै देख्न सकिन्छ ।
अदालत र कोष तथा लेखा नियन्त्रण कार्यालयको परिसरभित्र मात्रै होइन, मालपोत, हुलाक, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय र परिवार नियोजन संघलगायत कार्यालय परिसरमा पनि रक्सीका खाली बोतल थुप्रिएको त्यहाँ पुग्ने जोसुकैले पनि सजिलै देख्न सक्छन् ।
झापा सदरमुकाम चन्द्रगढीस्थित अधिकांश सरकारी कार्यालय परिसरमा रक्सीका खाली बोतल थुपारिएको अवस्थामा भेटिएका छन् । राजधानी दैनिकले बुधबार दिउँसो कैद गरेको भिडियोमा आधा दर्जन सरकारी कार्यालयमा रक्सीका रित्ता बोतल यत्रतत्र छरिएको अवस्थामा फेला परेको छ ।
प्रायः सबैजसो कार्यालय प्रमुख र कर्मचारीहरूले आफूहरू कार्यालय परिसरमा रक्सी सेवन नगरेको र आफूभन्दा पहिलाका कर्मचारीले सेवन गरेर खाली बोतल नहटाएको जिकिर गरेका छन् ।
अदालतका स्रेस्तादार दुर्गाप्रसाद खनालले भने, ‘हामीले होइन, कसैले सेवन गरेर हाम्रो परिसरमा ल्याएर फालेको हुनुपर्छ ।’ तर, अदालतमा प्रहरीको सुरक्षा छ भने कार्यालयको चारैतिर पर्खाल लगाइएको छ । हुलाकका कार्यालय प्रमुख दामोदर घिमिरेले समेत आफू र आफ्नो मातहतका कर्मचारी कसैले पनि रक्सी सेवन नगर्ने भन्दै धेरै समयदेखि आफ्नो कार्यालयको छतमा त्यस्ता खाली बोतल रहेको हुन सक्ने बताए । जोकोहीले राखेकोे भए पनि छानबिन गरी त्यस्तो व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमा पनि भर्खरै सेवन गरेर फालेको देखिने वाइन र रक्सीका खाली बोतल फेला परेका छन् । त्यसलाई दृश्यमा कैद गर्न थालेपछि प्रमुख कार्यालय छोडेर अन्यत्र लागेका थिए । उता, मालपोत कार्यालय परिसरमा पनि रक्सीका दर्जनौं खाली बोतल यत्रतत्र छरिएर रहेको अवस्थामा भेटिएको छ । कार्यालय प्रमुख जर्नादन भट्टराईले यस विषयमा बोल्न चाहेनन् । भट्टराईको निवास कार्यलयकै माथिल्लो भागमा छ । हरेक दिनजसो उनी निवासमै अन्य व्यक्तिलाई बोलाएर रक्सी सेवन गर्ने गरेको कर्मचारी स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘सेवाग्राही र लेखनदासले रक्सीका बोतल ल्याएर दिन्छन्, खाएर फाल्न नभ्याएको होला ।’
आन्तरिक राजस्व कार्यालयका प्रमुख बोलराज आचार्यले जोकोहीले पनि कार्यालय परिसरमा मादकपदार्थ सेवन गरेको भए वा खाली बोतल भेटिए कारबाहीको भागीदार हुनुपर्नेमा जोड दिए । यस्ता कार्यले झापालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्न वा यसको न्यूनीकरणमा प्रतिकूल प्रभाव पार्न सक्ने बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले पनि कार्यालय परिसरमा रक्सीका बोतल भेटिँदा राम्रो सन्देश नजाने भन्दै यसमा सबै कार्यालय प्रमुख गम्भीर हुनुपर्ने बताए ।
पूर्वाञ्चल सिँचाइ डिभिजन कार्यालयको पश्चिमतर्फको पर्खालसँगै टाँसिएर राखिएका वाइनका खाली बोतलहरूबारे जानकारी लिन खोज्दा कार्यालय प्रमुख नभएको जानकारी दिइयो । उता, कोष तथा लेखा नियन्त्रण कार्यालयको बाथरुमनजिकै दर्जनौं रक्सीका खाली बोतल पनि देखिएका छन् । जिल्ला हुलाक कार्यालयको छतमा पनि दर्जनौं रक्सीका खाली बोतल फेला परेका छन् ।
नेपाल परिवार नियोजन संघको प्रांगगणमा पनि रक्सीजन्य पदार्थका खाली बोतल भेटिएका छन् । त्यहाँका अध्यक्ष केदार गिरीले पनि नजिकै रहेका होटलमा प्रयोग गरिएका बोतल लगेर कसैले राखेको हुन सक्ने बताए । संघका पूर्वअध्यक्ष कृष्ण दाहालले कसैले परिसरभित्र रक्सी सेवन नगरेको प्रतिक्रिया दिए ।
झापालाई मदिरा निषेधित जिल्ला र अवैध मदिरा बेचबिखान तथा उत्पादनमा पूर्णरूपमा रोक लगाउने जिल्लाका रूपमा घोषणा गर्न १ माघदेखि स्थानीय प्रशासन लागिरहेको बेला कार्यालय प्रमुखहरूबाटै यस्तो लापर्बाही गर्नु लाजमर्दो कुरा हो । यसको छानबिन गरी सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाका अध्यक्ष डा. नवीन चापागाईंको भनाइ छ ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पटक–पटक कार्यालय प्रमुखसँगको मिटिङमा समेत सरसफाइ र रक्सी सेवनको विषय उठाइएकाले अब अनुगमन र कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए ।राजधानी दैनिक










