काठमाडौं, माघ ११
प्रहरीले थापाथलीस्थित प्रसुति गृहकी डाक्टर बबिता शाहको दुई वर्षीया छोरीलाई अपहरण गरेको ६ घण्टामै सकुशल उद्धार गर्न सफल भएको छ ।
शुक्रबार बिहान काटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी सन्ध्यालाई प्रहरीले गौशालाबाट उद्धार गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालिकाको सकुशल उद्दार गरेपनि अपहरणकारी भने फरार भएका छन् ।
आर्थिक लेनदेनका कारण जनकपुरका मनिषकुमार गुप्ताले अपहरण गरेको प्रहरीले बताएको छ । परिसरका डीएसपी होविन्द्र बोगटीले भन्नुभयो, ‘उनले साढे दुई लाख रुपैयाँ मागेका थिए, ‘हामीलाई सूचना आउने वित्तिकै खोजी थालेका थियौं । त्यसक्रममा अपहरणकारी गुप्ताले बालिकालाई तिलगंगाको होटल गणेश अगाडि छाडेर भागे, त्यहीबाट बालिकालाई उद्दार गर्यौं ।’ अधिकारीहरुका अनुसार प्रहरीले बालिकालाई राखेको ठाउँमा घेरा हालेपछि बालिकालाई छाडेर भागेका थिए ।










