काठमाडौं । सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए । सोही सूचनामा भएको व्यवस्थाअनुसार अहिले विभागले मदिरा ल्याउन कडाइ गरेको र कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने बताउँदै महानिर्देशक रायाले भने,
‘अब ल्यापटप, मोबाइल पनि सूचनाअनुसार भन्दा धेरै आयात भएको भेटिए जफत गर्छौं ।’ अहिलेसम्म कानुनको प्रभावकारी कार्यान्वन नहुँदा समस्या देखिएको भन्दै उनले भन्सार विभागले त्यस्ता गतिविधिलाई अब नछाड्ने चेतावनी दिए ।
अब कानुनभन्दा धेरै केही पनि हुँदैन, कानुनअनुसारका कुनै पनि कुरा छाडिँदैन भन्दै उनले एउटा प्रज्ञापनपत्रबाट दुईवटा गाडी नछिर्ने दाबी गरे । उनले भन्सारमा गेट इन्ट्री मोडल कार्यान्वयन गरिएको भन्दै अब एउटै प्रज्ञापनपत्रबाट दुईवटा गाडी छिर्न नसक्ने बताए ।
‘पहिले यस्ता कुरा मैले पत्रिकामा देखें, अब त्यस्ता कुरा हुँदैन तर भारतसँग खुला सीमा भएका ठाउँमा धेरैवटा बाटा बनेका छन्, त्यहाँबाट सामान छिर्न सक्छन् ।’ उनले बाह्य व्यापारलाई सहज बनाउन भन्सार प्रणाली सुधारका काम भइरहेको बताए । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक रायाले यस्तो जानकारी गराएका हुन् । उनले सुधारका काम भइरहेको र अटोमेसनमा लैजाने बताए । उनले सरकारको यस्तो कार्यले मुलुकको आर्थिक वृद्धिमा निकै सहयोग हुने अपेक्षा गरिएको बताए ।
सरकारले गरेको यस्तो निणर्यमा निजी क्षेत्रले भन्सारको झन्झटले लागत बढाएको उनले बताए । सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारमा हुने ढिलासुस्तीले नेपालको अन्तर्राष्ट्रिय व्यापारको लागत बढाएको बताए । उनले व्यावसायिक लागत बढ्दा अन्तर्राष्ट्रिय रूपमा नेपाल प्रतिस्पर्धी बन्न नसकेको पनि उल्लेख गरे । लजिस्टिकका कारण मात्रै व्यापारको ५० प्रतिशत लागत बढेको बताउँदै ढकालले भने, ‘लागत कम गर्न सरकार र निजी क्षेत्र दुवै मिलेर काम गर्नुपर्छ ।’ कार्यक्रममा नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्माले भन्सार सुधारका क्षेत्रमा काम भइरहे पनि त्यो पर्याप्त नभएको बताए । यसैगरी, नेपाल उद्योग परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले भन्सार जाँचपासमा ढिलाइ हुँदा डिटेन्सनको समस्याले व्यवसायीलाई थप अप्ठेरो परेको बताए ।
अहिले विभागले पैठारी हुने मालवस्तुको भन्सार मूल्य निर्धारण गर्दा विश्व व्यापार संगठनको भन्सार महसुल तथा व्यापारसम्बन्धी सामान्य सम्झौतामा भएका विभिन्न पाँचवटा विधिका आधारमा भन्सार मूल्यांकन गर्दै आएको छ । जसमा कारोबार मूल्य, आइडेन्टिकल गुड्स, सिमिलर गुड्स, डिडक्टिभ भ्यालु, कम्प्युटेड भ्यालुलगायतका विधि रहेका छन् । व्यवसायीले भने लामो समयदेखि ‘डाटाबेस’को यो प्रणाली परिवर्तन गर्नुपर्ने माग गर्दै आएका थिए । पहिले ‘आसिकुडा प्लस प्लस’ थियो । यो परम्परागत प्रणाली थियो, जसअनुसार भन्सार कार्यालयमा वस्तु जाँचपास भएपछि डाटा अपलोड गरेको खण्डमा मात्रै कन्द्रीय प्रणालीमा सूचना पुग्थ्यो । तर, अहिले विभागले ‘आसिकुडा वल्र्ड’ प्रणाली अपनाएको छ ।
अनलाइन आधारित यो प्रणालीअनुसार कुनै भन्सार नाकामा कुन वस्तु कति मूल्यमा पास भएको छ, त्यसको जानकारी केन्द्रीय सर्भरबाट सोझै अवलोकन गर्न सकिन्छ । अब विभागले आसिकुडा वर्ड प्रणालीका आधारमा ‘डाटाबेस’ तयार गर्नेछ । यो प्रणाली अपनाएपछि आयातमा देखिएका अन्य विकृति न्यूनीकरण गर्न पनि सहयोग मिल्ने विश्वास विभागको छ ।राजधानी










