डोल्पा, माघ १२ । कर्णाली प्रदेशका डोल्पा र हुम्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने कार्य सुरु भएको छ। उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई हवाइ टिकटमा एक हजार सहुलियत दिन सुरु गरेको हो।
कर्णालीका अन्य जिल्लामा सडक सञ्जाल जोडि सकेको भएपनि हुम्लामा भने अझै सडक सञ्जालमा जोडिएको छैन। डोल्पा सडक सञ्जालमा पूर्ण रुपमा जोडिएको छैन। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए अनुसार डोल्पा र हुम्लाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई छुट दिने गरिएको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए। मन्त्री बुढाले भने, ‘चालु आर्थिक वर्षमा हवाई भाडामा छुट दिन एक करोड बजेट बिनियोजन गरिएको छ।’
प्रदेश सरकारको नीति तथा कार्यक्रममा हिमाली दुई जिल्ला डोल्पा र हुम्लामा हवाइ भाडामा सहुलियत दिने र प्रदेश राजधानी सुर्खेतबाट पहाडी तथा हिमाली जिल्लामा उडान भर्ने जहाजलाइ इन्धनमा सहुलियत दिने घोषणा गरिसकेको मन्त्री बुढाले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्टबाट लिइएको हो ।










