काठमाण्डु, १३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने मधेस यात्रामा निस्किने भएका छन् ।
शाह आज बाराको सिमरा पुग्दैछन् । सिमरामा बालसखा तथा सल्लाहकार प्रभु शमशेर राणाको निवासमा रहने गरेका उनी यसपटक पनि त्यहीँ रहनेछन् ।
एक साता सिमरा बसेपछि २० गते झापाको दमक जाने कार्यक्रम छ । झापा भने उनी स्थल मार्गबाट जाने इच्छा देखाएका छन् । दमकपछि प्रदेश २ का केही जिल्ला पनि जाने तयारी छ ।
शाहको निजी सचिवालयका अनुसार मधेसका जिल्लाहरूमा पूर्वराजासँग भेटघाट गर्न धेरैले इच्छा व्यक्त गरेको त्यसतर्फ जान लागेका हुन् । त्यस अवघिमा शाहले विभिन्न धार्मिक मठ–मन्दिरको दर्शन गर्नेछन् ।
साथै पूर्वराजा शाहले हिन्दु राष्ट्रको नारा लगाउँदै आएका राप्रपा लगायतका राजनीतिक शक्तिसँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।
बुद्ध एयरबाट सिमरा जान लागेका शाहसँग पत्नी कोमल राज्यलक्ष्मी शाह, निजी सचिव तथा सुरक्षाकर्मीहरू रहनेछन् ।











