काठमाडौं–नेपालमा पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञको आयोजनाहुने भएको छ । गत वर्षको महाशिवरात्रीदेखि देश विदेशमा रहेका १२०० साधक साधिकाहरूले कूल १ अर्ब ६० करोडको संख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन् ।
‘श्रीराम तारकब्रह्म महायज्ञ’ अन्तर्गत हरित नेपाल, स्वच्छ नेपाल, स्वस्थ्य नेपाल, स्वावलम्बी नेपाल, सम्मृद्ध नेपाल र संस्कारी नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिएको आयोजकले बताएको छ ।
महायोगी सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज प्रधान सङ्कल्पकर्ता रहेको यो महायज्ञ जगद्गुरु रामानन्दाचार्य सेवा पीठ, वराहक्षेत्र, चतराधाममा आगामी माघ २७ (वसन्त पञ्चमी)देखि सुरू भई फाल्गुण ७ गतेका दिन सम्पन्न हुने जनाइएको छ ।
महायज्ञका लागि नौ तल्ले यज्ञमण्डप र त्यसभित्र विभिन्न प्रकारका कूल १०८ हवन कुण्डको निर्माण भइरहेको छ । महायज्ञमा सहभागी हुने करिव २ हजार ५ सय अतिथिहरूको उचित आवास व्यवस्थाको लागि प्रदेश १ का मुख्य मन्त्री शेरधन राई सहित मन्त्रीमण्डलका सदस्यहरूको सहभागीता रहेको थियो ।
त्यसैगरी, सिद्धबाबाबाट दीक्षित साधक–साधिकाहरू करिव ८ करोडको आर्थिक सहयोगबाट सुविधायुक्त कुल १ सय २६ कोठाको आवास गृह निर्माण भएको छ । आगामी माघ २५ गते शोभायात्राबाट मङ्गलाचरण हुने यस महायज्ञ र नवनिर्मित अतिथिगृह समेतको उद्घाटन माघ २६ गतेका दिन जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाम, सुनसरी चतरामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने आयोजकले बताएको छ । सोही अवसरमा हरित क्रान्ति अभियानको समेत उद्घोष गरिने बताइएको छ ।
प्राकृतिक सम्पदाको दोहनबाट हुने मानव सृजित प्रकोपको परिणाम विस्तार भइरहेको मरुभूमीकरणबारे जनचेतना जगाउन यो महायज्ञ सिद्ध सावित हुने आयोजकको विश्वास छ । त्यसैगरी, तीव्र औद्योगिकीकरणका कारण उत्सर्जित कार्वनडाइअक्साइड जस्ता हरितगृह ग्याँसले वायुमण्डलमा बढ्न गएको तापक्रम र सोको विषाक्तताबाट पर्न गएको विपरीत प्रभावले जीव र जगत्को सुरक्षामा गम्भीर चुनौती थपिएको छ । त्यसैले हरित क्रान्ति अभियानमा पुनर्विचार र संयोजनको आवश्यकता यज्ञ सहयोगी हुने विश्वास गरेको छ ।
त्यस्तै, रासायनिक मल एवम् विषादिको प्रयोगले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि ल्याएको भए तापनि यस सँगसँगै हुन गएको वन विनाश र जीवाष्म ऊर्जा, रासायनिक मलखाद तथा विषादिबाट उत्पन्न ग्यासले पृथ्वीको सुरक्षा कवचमा खतरा उत्पन्न भएकाले यसको रक्षामा यज्ञ गरिएको आयोजकले बताएको छ । अर्को तर्फ आफ्नो धर्म, दर्शन, संस्कार र संस्कृतिप्रतिको सम्झौताहीन समर्पणतर्फ पनि पूर्ण सचेत रहन सचेत गराइएको छ ।










