विराटनगर। मोरङका व्यवसायीले बैङ्क ऋणको ब्याजदर घटाउन माग गर्दै आइतबार सात दिनको अल्टिमेटम दिएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई तथा नेपाल राष्ट्र बैङ्क प्रदेश नम्बर १ को कार्यालयमार्फत् राष्ट्र बैङ्कको केन्द्रीय कार्यालयलाई अल्टिमेटम दिएका हुन् ।सङ्गठनका अध्यक्ष भीम घिमिरे र सङ्घका कार्यवाहक अध्यक्ष सुनील टिवडेवालले प्रमुख जिल्ला अधिकारी रमेश केसी र राष्ट्र बैङ्कको प्रदेश नम्बर १ का प्रमुख विनोदराज आचार्यलाई अल्टिमेटमसहितको पत्र हस्तान्तरण गरे ।
प्रजिअ केसी मार्फत् प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई अल्टिमेटम दिइएको छ । त्यस्तै राष्ट्र बैङ्कका गभर्नरका नाममा पनि सोही प्रकृतिको अल्टिमेटम छ ।सङ्घ र सङ्गठनले उत्पादनमूलक उद्योगलाई प्रवाह भएको ऋणमा अधिकतम ७ र व्यावसायिक क्षेत्रमा ९ प्रतिशतमा नबढाई ब्याजदर कायम गरिनुपर्ने माग गरेका छन् ।
त्यस्तै बैङ्कले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गरिनुपर्ने माग पनि छ ।मागहरू यो साता पूरा नभए माघ २० गते राष्ट्र बैङ्कको प्रदेश नम्बर १ को कार्यालयमा बिहान ९.३० देखि ११.०० बजेसम्म धर्ना दिने, २१ गते मध्याह्न १२.०० बजेसम्म, २२ गते अपराह्न २.०० बजे र २३ गते अपराह्न ४.०० बजेसम्म धर्ना दिने कार्यक्रम छ ।
त्यस्तै माघ २३ गतेसम्म सम्बन्धित निकायले माग पूरा नगरेमा २४ गते सम्पूर्ण उद्योग–व्यवसायको साँचो जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई बुझाएर सोही दिन बिहान ११.०० बजेदेखि राष्ट्र बैङ्कको प्रदेश कार्यालयको मूल गेटमा तालाबन्दी गरी निरन्तर धर्ना दिने कार्यक्रम छ ।
ज्ञापनपत्र दिँदै अध्यक्ष घिमिरेले नेपालका वाणिज्य बैङ्कहरू केही समययता नयाँ सामन्त र साहुमहाजनका रूपमा उदाएको बताए।‘राष्ट्र बैङ्कका अधिकारीलाई निजी क्षेत्रका बैङ्कका सञ्चालकले अनुचित प्रभावमा पारेका छन्’, घिमिरेको आरोप थियो, ‘त्यसैले वाणिज्य बैङ्कहरूले कर्जा र ब्याजदरमा मनोमानी ढङ्गले सिन्डिकेट चलाइरहेका छन् । राष्ट्र बैङ्कका अधिकारीहरू केही गर्न सक्ने अवस्थामा छैनन् किनकि उनीहरूले व्यापारिक बैङ्कसित अनुचित लाभ लिएका छन् ।’










