मोरङ । स्वास्थ्य प्रबद्र्धन अभियान सफल बनाउन कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ प्रदेश १ मा सद्भावना दुत बनेका छन् ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा घोषणा भएको अभियानलाई सार्थक बनाउन कलाकारद्धय धुर्मस–सुन्तलीलाई सद्भावना दुत बनाइएको हो ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सामाजिक विकास मन्त्रालयका सचिव उपेन्द्र दाहाल र सिताराम कट्टेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा भएको हस्ताक्षर कार्यक्रमपछि कलाकार धुर्मसले प्रदेश सरकारले लिएको लक्ष्यलाई एकसय दश प्रतिशत सफल बनाउन सक्दो भूमिका खेल्ने प्रण गरे । सरकारको सदैव सहयोगी बनेर सामाजिक अभियानमा आफूहरु लागेको बताएका धुर्मुसले प्रदेश सरकारले सुम्पेको जिम्मेवारी पूरा गरिछाड्ने बताए ।
उनले स्वस्थजीवनका लागि स्स्वास्थ्य प्रवद्र्धन कार्यक्रमको शुभारम्भ भने दिमाग सफाइबाट गर्न आवश्यक रहेको बताए । उनले भने, ‘सवैभन्दा पहिला सकारात्मक सोंचको विकास हुनुपर्छ, यसका लागि दिमागी सफाईको अभियान चालिनेछ ।’
मुख्यमन्त्री शेरधन राईले परिणाम निकाल्ने उद्देश्यका साथ ख्यातिप्राप्त कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस र सुन्तलीलाई दुतका रुपमा पाएको भन्दै अभियानले पूर्ण सफलता प्राप्त गर्ने विश्वास ब्यक्त गरे । उनले सम्पूर्ण तप्कामा पुग्ने गरि अभियान सञ्चालन हुनुपर्नेमा जोड दिए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिलेसम्म विरामीको उपचारमात्र खोजिदै आएको तर्क गर्दै अब भने रोग नै लाग्न नदिने उपाय अवलम्बन गर्न मन्त्रालय लागि परेको बताए । यसका लागि खानपिन, सरसफाई र नियमित व्यायामका कारण मानिस निरोगी बन्न सक्छ भन्ने उद्देश्यका साथ यसलाई आधार बनाएर विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए ।
सन् २०१५ मा नेपाल सरकारका तर्फबाट सरसफाई दुत बनेका धुर्मस सुन्तली प्रदेश १ मा २०७५ फागुन १ देखि ०६७ माघ ३० सम्मका लागि सद्भावना दुत बनेका हुन् । यो सम्झौतासँगै कलाकारद्धयले प्रदेशका १४ जिल्लामा स्वाथ्य प्रर्वद्धनका सवालमा विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् ।राजधानीअनलाइन










