प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी फागनु १४ गते तय गरिएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।
त्रिभुवन बिश्वबिद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिश्वबिद्यालय पदाधिकारी, बिद्यार्थी संगठनका नेतासहित भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेबिसंघका इञ्चार्ज डा प्रकाशशरण महतले चुनाव हुन नदिने घोषणा गर्नुभएको हो ।
‘सत्तापक्ष र प्रतिपक्षको दुरी कम नगरीकन स्वबियू चुनाव हुनै सक्दैन, सडकमा आन्दोलन गर्न नदिने, धरपकड गर्ने, अनि कसरी हुन्छ स्वबियू चुनाव ? हामी कुनै हालतमा चुनाव गर्न दिन्नौं,’ प्रधानमन्त्रीसहितको छलफलमा कांग्रेससभापति देउवा र महतको भनाई उधृत गर्दै एक बिद्यार्थी नेताले भन्नुभयो । उहाँका अनुसार देउवाले सडकमा हामीले ढुंगा हान्न पनि नपाउने भन्दै चुनाव हुन नदिने अडान लिनुभएको थियो ।
‘डेमोक्रेसी जोगाउन जे जे गर्नूपर्छ, म गर्छु, सरकारले गर्छ, बिद्यार्थी चुनावको बिषयमा बिश्वबिद्यालयको क्यालेण्डर अनुसार होस, कुलपतिको हैसियतले मैले बिपक्षी दलको नेतासहित बिश्वबिद्यालयका पदाधिकारी र बिद्यार्थी नेताहरुसँग परामर्श गरेको हो, यस्मा कुनै बखेडा खडा नगरौं,’ देउवालाई प्रधानमन्त्री ओलीको भनाई थियो ।
छलफलमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, अनेरास्वबियूका इञ्चार्जसमेत रहनुभएका पर्यटनमन्त्री रविन्द्र अधिकारी, क्रान्तिकारीका इञ्चार्ज रमेश मल्लसहित अनेरास्वबियूका अध्यक्ष नविना लामा, महासचिव ऐन महर, अनेरास्वबियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेबिसंघका अध्यक्ष नैनसिंह महरलगायतका बिद्यार्थी नेताहरु सहभागी हुनुहुन्थ्यो ।










