काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ । सत्तापक्षले जवरजस्ती पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म कांग्रेसले संसद चल्न नदिने भएको हो ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सूचारु गराउने विषयमा छलफल गर्न बोलाउनु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा काँग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो । कांग्रेसले सो विधेयक राष्ट्रियसभाबाट सच्याउन सरकारलाई सचेत गराएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । उनले सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भिर विषय समावेश गरिएको सो विधेयक जब्बर्जस्ती पारित गरेकाले त्यसप्रति आफूहरुको असहमति रहेको स्पष्ट पारे ।
प्रतिनिधिसभालाई सुचारु गराउन सभामुख महराद्वारा गरिएको आग्रहलाई काँग्रेसले अस्वीकार गरेपछि आजको बैठक पनि प्रभावित हुने भएको छ । गत माघ ११ गते बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको थियो ।










