काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । नेपाल–भारत सीमामा रहेको भद्रपुरस्थित मेची नदीमा निर्माण भएको पुल उद्घाटनका लागि उहाँ झापा जान लाग्नु भएको हो ।
निर्माण सकिएको करिब छ महिनापछि पुल उद्घाटन हुन लागेको हो । दिउँसो ३ बजे पुल उद्घाटन गर्ने कार्यक्रम रहेकोछ । भद्रपुर नगरपालिका, मेची पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले उद्घाटनको तयारीमा गरिसकेको जनाएको छ ।
प्रधानमन्त्री ओली आउने भएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ढकाल, सशस्त्र प्रहरी बल झापा २ नम्बर गणका एसपी रेशमकुमार थाक्सुलगायतले पुलको स्थलगत अनुमगन गरिसकेका छन् ।
तीन पटकसम्म शिलान्यासको भएको मेची पुलको अन्तिम पटक तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६८ माघ २१ मा शिलान्यास गरेका थिए । भारतको बंगाल तथा बिहार राज्यसँग जोडिने पुल निर्माणका लागि करिब ३३ करोड रुपैयाँ लागत रहेको छ । पुलको लम्बाइ ५६० मिटर र चौढाइ ११ मिटर रहेको निर्माण कम्पनी अनक एण्ड सूर्य कन्ट्रक्सनले जनाएको छ ।










