महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गाले केही दिनयता नयाँ मान्छेलाई भेट्न मुस्किल भएको बताएकी छन् ।
कोहिसंग भेट्यो कि सोधीखोजी गर्न ४/५ जना मान्छे आउने गरेको गरेकोले कसैले आफूमाथि निगरानी गरिरहेको उनको भनाइ छ ।
घरमा नयाँ मान्छे आउँदा पनि समस्यामा परिरहेको उनले बताएकी छन् ।उनि भन्छिन्, ‘कसैले मेरो जासुसी गर्न मान्छे खटाएका छन कि जस्तो लागेको छ । मैले कसैसँग कुराकानी गर्दा चार/पाँच जना मान्छे आइहाल्छन् ।’
मैले कोसँग भेटे, किन भेटे, को आयो ? भनेर आफुमाथि नै जासुशी हुन थालेको उनको भनाई छ । ‘भेटेर गएपछि पनि यताउता आएर के हो ? कस्तो हो ? के कुरा भयो भनेर सताउने गरेका छन्,’ दुर्गाले भनिन् ।
डिएनए परीक्षणको विषयलाई लिएर घरमा भएको विवादले झन समस्या थपेको उनको भनाइ छ । श्रीमानले पनि अरुको बहकाउनमा लागेर दुःख दिइरहेको दुर्गाले गुनासो गरिन् । ‘मेरो पक्षमा कुरा गर्नेलाई गाली गर्ने उहाँको पहिलेदेखिको बानी हो, अहिले पनि त्यस्तै गरिरहनु भएको छ,’ उनले थपिन् ।










