पोखरा, १८ माघ – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध तिक्ततापूर्ण नरहेको बताएका छन् । सरकारको समग्र मुल्याङ्कन ५ बर्षपछि हुने बताउदै नेता शर्माले १ बर्षको अवधिलाई हेर्दा सकारात्मक अवस्था नदेखिएको बताए । सरकारले विवेक गुमाएका कारण काँग्रेसले संसद र सडकबाट विरोध गर्नुपरेको उनको भनाई थियो ।
पोखरामा प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा शर्माले सरकारका गतिविधि लोकतान्त्रिक संस्कार अनुरुप नभएको आरोप लगाए । प्रधानमन्त्री व्यक्ति नभई संस्था र राज्यकै प्रतिनिधित्व गर्ने व्यक्ति भएकाले गैरजिम्मेवार अभिव्यक्ति दिन नमिल्ने उनको तर्क थियो ।
‘लोकतन्त्रमा एक जना नागरिकको पनि असहमति र अन्यायमा परेको छ भने राज्यले धैर्यतापूर्वक सुन्नपर्छ’ प्रवक्ता शर्माले भने,‘राज्यमा एउटा नागरिक ३ हप्ता बढी अनसनमा रहँदा सरकार गम्भिर बनेको छैन । वार्ता गर्ने तत्परता समेत देखाएको छैन् ।’
प्रवक्ता शर्माले वाइड बडीको प्रकरणमा काँग्रेस नेतृत्वको सरकार भएका बेला कुनै महत्वपूर्ण निर्णय नभएको जिकीर गरे । डा.गोविन्द केसीको जीवनरक्षा, निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण, संवैधानिक परिषद्बाट विपक्षी नेतालाई जानकारी नदिई गरिएका निर्णय, वाइड बडी, बुढीगण्डकी परियोजना, निजगढ विमानस्थल निर्माणका लागि रुख काट्न लागिएको लगायतका विषयलाई लिएर आगामि माघ २१ मा देशव्यापी प्रदर्शन गर्न लागिएको प्रवक्ता शर्माले जानकारी दिए ।
यसअघि ठूला परियोजना विभिन्न देशका कम्पनी होल्ड गरेर राखेको चर्चा गर्दै बुढी गण्डकीलाई पनि विना प्रतिस्पर्धा चीनको एउटा कम्पनीलाई सुम्पने काम भएको शर्माले आरोप लगाए । ‘सरकार बहुमतले चलाउने हो, संसदमा पनि बहुमतीय प्रक्रियाबाटै चल्ने हो, कम्युनिष्टहरुले काँग्रेसलाई लोकतन्त्र र संसदीय अभ्यासको पाठ सिकाउन जरुरी छैन’ उनले भने, ’तर लोकतन्त्रमा संस्कार र विवेक आवश्यक हुन्छ । यही विषयका साथ आन्दोलन गर्न लागेका हौं ।’
साथै उनले निजगढ विमानस्थल निर्माणको लागि रुख काट्ने निहुँमा सरकार र पर्यटनमन्त्रीले घोटाला गरेको शर्माको आरोप थियो ।
‘निजगढ विमानस्थल बनाउन रुख नकाटी बन्दैन । काट्नु पर्छ । रुख त्यति मात्र काट्नु पर्छ जति आवश्यक छ । दोब्बर संख्यामा रुख काट्ने गरी पर्यटन मन्त्रालयले वन मन्त्रालयलाई के आधारमा पत्र लेख्यो ?,’ उनले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई प्रश्न गर्दै भने, ‘हङकङ र लण्डन जोड्ने भन्दा ठुलो एयरपोर्ट बनाउन लागियो । जहाँ आवश्यक नै छैन । त्यहाँ यत्रो एयरपोर्ट बनाउने भनेको पोखरामा एयरपोर्ट काम छैन भनेको हो नी !’
साथै उनले कांग्रेसको बहुमतको सरकार भएको दिन डा. केसीको माग पूरा हुने र वर्तमान सरकारले गरेका निर्णय खारेज हुने प्रवक्ता शर्माले दाबी गरेका छन् । कांग्रेसको आन्दोलन चिकित्सा शिक्षा विद्येयक र डा. गोविन्द केसीको जीवन रक्षाको लागि भएको उनले बताए ।
‘संसदमा भएको हाम्रो आन्दोलन चिकित्सा शिक्षा विद्येयक पारितको विषय र डा. केसीको जीवन रक्षाको लागि हो,’ पत्रकारले संसदमा तपाइँहरूको आन्दोलन किन भन्ने प्रश्नमा उनले भने, ‘सरकारसँग भएको सम्झौता पालना होस् र डा.केसीसँग वार्ता होस् भनेर हो । हामीले अहिले डा. केसीलाई अनशन तोड्नुस मुद्धा नछोड्नुस भनेका छौँ । यो मुद्धा तपाईंको मात्र हैन हाम्रो पनि हो भनेका हौँ । तोड्ने नतोड्ने उहाँको कुरा हो ।’
अहिले अनशन तोड्नुस बाँकी कुरा वार्ता मार्फत पुरा गरौँला सम्म नभनेको भन्दै शर्माले सरकार जम्मेवार नरहेको आरोप लगाए । ‘डा.केसीको मागमा तोडमोड भएको छ । भविष्यमा नेपाली कांग्रेसको सरकार भएको दिन डा. केसीको माग पुरा गर्छौँ । अहिले भएको निर्णय बदर गरेर छोड्छौँ ।’










