नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको विद्यार्थी विभाग हेरिरहेका नेता नरेन्द्र विश्वकर्मा मोरङबाट पक्राउ परेका छन्।

सुनसरीमा जिल्ला भेला गरेर काठमाडौं फर्कने क्रममा विश्वकर्मालाई प्रहरीले तीन राउन्ड गोलीसहित पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोरङ प्रहरीका अनुसार विश्वकर्मालाई बिहीबार साँझ विराटनगर विमानस्थलबाट चाइनिज पेस्तोलको तीन राउन्ड गोलीसहित पक्राउ परेका हुन्।

उनको झोला चेकजाँच गर्ने क्रममा गोली फेला परेको प्रहरीले जनाएको छ।

मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार नरेन्द्र सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा हुन्। नरेन्द्रको पार्टीमा के हैसियत भन्ने खुलिनसकेको केसीले बताए।

‘विद्यार्थी भेला गर्ने, प्रशिक्षण दिने र क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध गराउने कार्यमा उहाँको संलग्नता रहेको बुझिएको छ,’ केसीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं।’

केही समययता विश्वकर्माको मोरङ र सुनसरीमा गतिविधि बढेको प्रहरीले बताएको छ। सशस्त्र युद्ध गर्ने चेतावनी दिइरहेको विप्लव माओवादीमाथि सरकारले पछिल्लो समय निगरानी बढाएको छ।