काठमाडौं, १८ माघ । हृदयघात भई नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह शुक्रबार अस्पतालबाट डिस्चार्ज हुँदैछन् । डिस्चार्ज भएपछि उनलाई निर्मलनिवास लगिन्छ कि शोभा कुञ्ज जानेछन् ?
नेपाल आएदेखि निर्मलनिवासमा वास नपाएका पारसलाई उनकी आमा तथा पूर्वरानी कोमल शाहले भने त्यहिँ बोलाउने तयारी गरेकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाह तराई भ्रमणमा रहेको र पूर्वयुवराज्ञी तथा पत्नी हिमानी थाइल्यान्डमा रहेका कारण कोमलले उनको रेखदेखका लागि निर्मलनिवास बोलाउने तयारी गरेको स्रोतले जनाएको छ ।
तर हदृयघात हुनुअघि कमलादीस्थित फूपु शोभाको घरमा रहेका कारण पारस त्यहि जानसक्ने बताइएको छ । पारसनिकट स्रोतले भन्यो,‘डिस्चार्जका बेला उहाँले जहाँ इच्छा गर्नुहुन्छ त्यहिँ लाने तयारी हुनेछ ।’
उनलाई तेस्रो पटक हदृयघात भएको थियो । तर, समयमा अस्पताल पुुुगेका कारणले ठिक भएको बताइएको छ । उनलाई आइतबार दिउँसो अस्पताल लगिएको थियो । ५ दिनसम्म उनी अस्पतालमा उपचारसहित आराम गरेर बसेका थिए ।
मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ । हाल पारसको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
डाक्टरहरूले उनलाई डिस्चार्ज गर्दा फरक नपर्ने बताए पनि नियमित औषधि सेवन र खानपानमा ध्यान दिन सुझाएका छन् ।
यसै साता उनको फेरि चेकजाँच हुनेछ । पारसलाई २०६३ सालमा पहिलोपटक हृदयाघात भएको थियो । त्यसपछि ०७२ सालमा दोश्रो पटक र गत आइतबार तेश्रो पटक हृदयाघात भएको हो । दैनिक नेपाल बाट साभार










