अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले आज राजीनामा घोषणा गरेकी छन् ।
नेपाल फर्के लगत्तै आज (शुक्रबार) एक प्रेस विज्ञप्ती जारी गर्दै शेर्पाले राजीनामा दिंदै बाटो खुल्ला गरिदिएको जनाएकी छन् । कुटनीतिक सुविधा बापत प्राप्त हुने निजी सहयोगीलाई प्रयोग गरेर शरणको खेती गर्नेहरुले नियोजित ढङ्गले आफूलाई फसाएको दावी उनले निकै मार्मिक पाराले विज्ञप्ती जारी गरेकी छन् ।
यस्तो छ शेर्पाले जारी गरेको विज्ञप्ती जिम्मेवारीको हिसाबले अष्टेलियाका लागि नेपाली राजदूतको जिम्मेवारीमा रहेको हुँदा मेरोबिरुद्ध आएको भ्रम, लान्छना र निराधार आरोपहरु तत्काल चिर्नको लागि कुटनीतिक मर्यादाको कारण आफूमाथि एकोहोरो भ्रम, लान्छना र फरेबको पहाडै खसे पनि मुकदर्शकझै बस्नु परेको यहाँहरुलाई बिदितै छ । म यहाँहरु समक्ष प्रेस बिज्ञप्तीमार्फत सत्य प्रष्ट पार्ने अनुमति चाहन्छु ।
गलत नियत राखी, एकतर्फी ढंगले आएको अतिरञ्जनाको जवाफ दिन आवश्यक नभए पनि यस्ता बिषयले सर्बसाधारणमा भ्रम सिर्जना भएकोले यसको निवारण गर्न आवश्यक ठानेर नै यो प्रेस बिज्ञप्ती प्रेषित गरेको छु ।
शरणको खेती गर्नेहरुबाट पीडित भएँ घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको ‘डिप्लोम्याट’, जो रात दिन देश र जनताको हितार्थ समर्पित छ, त्यस्ता ब्यक्तिहरुलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुःखद छ । यस्तो गलत परम्पराले हाम्रो समाज कता जाला, मुलुकलाई कहाँ पुर्याउँला ? यो बिचारणीय कुरो छ ।
शरणार्थी माध्यमबाट पीआर पाउने र केही ब्यक्तिले देशकै ब्यवस्थाको मानमर्दन गर्दै पीआर दिलाउन ‘एसाईलम’ को खेती गर्ने कुचेष्टाले मेरो निजी सहयोगी वाङ्छु शेर्पालाई प्रयोग गरी कथिएको भ्रमजाल स्वरुप हामीमाथि आधारहिन, नियोजित तरिकाले निराधार आरोप लगाइएको छ । जतिसक्दो गलत आरोपहरु राजदूतबिरुद्ध संग्रह गर्ने कुचेष्टाले फरक प्रसंगमा प्रत्यक्ष बोलिएका कुराहरुलाई टेलिफोन वार्ता भनेर नियोजित र गैरकानुनी तरिकाले तोडमोड गरेर फरार रहेका ब्यक्तिले जनमानसमा भ्रम सिर्जना गरेको स्पष्ट छ ।
हामीमाथि संगीन र आधारहिन आरोप लगाउनु भन्दा अगाडि एकचोटी घोत्लिएर सोच्नु जरुरी छ, मेरो जीवनको ‘करियर’ को शुरुवात नै मानव तस्करीबिरुद्धको अभियानबाट शुरु भएको हो । गाउँको दूरदराज, झुपडीदेखि अन्तर्राष्ट्रिय मञ्च हुँदै नीति निर्माण तहसम्म भूमिका रहेको छ । कैयौँ पीडितहरुलाई नयाँ जीवन जिउने आधार दिएको छु ।
दुःखेको घाउमा मल्हमपट्टी लगाउने काम गरेकी छु । मेरो शैक्षिक स्थिति, पारिवारिक पृष्ठभूमि, राजनीतिक सामाजिक आर्थिक हैसियत, साथै पदीय जिम्मेवारीको हिसाबले सभासद हुँदै यहाँसम्म आईपुग्दा सबै तह र तप्काका मानिसहरु मेरोबारे बिबेकशील समाजका कोही पनि अनभिज्ञ छैनन् । मेरो जीवन खुला किताब जस्तै छ । मेरो सर्बस्व भनेकै ईमान्दारिता हो । मिथ्या आरोपको बारेमा सम्बन्धित दूताबासहरुसँग सत्य–तथ्य जानकारी लिन सकिने सूचनाको हक यहाँहरु सबैमा छ । निजी सहयोगी ल्याउने हकमा मन्त्रालयको आफ्नै किसिमको बिधि प्रक्रिया र स्रोतसाधन छ । यसर्थ, सम्बन्धित व्यक्तिको कार्यगत र भाषिक परिक्षण लिइएता पनि निजको नियत र
ईमान्दारिताको परीक्षण लिन चुक्यौं र समस्याको जड त्यहि नै रह्यो । बिदेशमै बस्ने लालसाले अन्ततः जसरी पनि पिआर पाउन यसैको सौदाबाजी गर्ने ब्यक्तिको चंगुलमा पुगें । केही सञ्चार माध्यममा काल्पनिक कथा बनाएर बिचार सही सम्प्रेषण नगरी वास्तविक पीडितहरुको कुरै नसुनी एकपक्षीय रुपमा ठगीमा संलग्न व्यक्तिको भनाई मात्र सम्प्रेषण गरी जनमानसमा दिग्भ्रमित पार्ने काम गरेका छन् ।
यो आर्थिकसँग जोडिएका मामिला भएकोले निजले सामाजिक सञ्जालमा दावी गरिएको हाम्रो बैँक खातालगायत सम्पूर्ण आर्थिक कारोबार अनुसन्धानको लागि खुला राखिएको छ । मिति २०७४ मंसिर ५ गतेदेखि नै नेपाल सरकार परराष्ट्र मन्त्रालयलगायत अष्ट्रलियाको सम्बन्धित निकायमा निजको चोरी ठगी सम्बन्धी गैरकानुनी कृयाकलापको बारेमा पत्रमार्फत् कारवाहीको लागि पीडितहरुले पठाएको प्रमाणसहित उजुरी पठाउनको साथै २०७४ साल मंसिर ११ गते र २०७५ साल मंसिर १६ गते ताकेता गरी परराष्ट्र मन्त्रालयमा पत्र पठाएको हो ।
कुटनीतिक माध्यमबाट बर्षौदेखि पठाएको पत्र परिपत्रलाई कुनै सुनुवाई नहुने, तर जस्केलाबाट कसैले चिच्याएको भरमा आफ्नै कुटनीतिक नियोग प्रमुखको बिषयमा छानविन समिति बनाउने यो देशको कस्तो बिडम्बना ! कस्तो दुर्भाग्य ! कुटनीतिक प्रतिष्ठा र मर्यादा माथि प्रहार हुने गरी कसैले नियोजित घटना घटायो भने अन्य मूलुकहरुले सत्यको गहिराई पत्ता लगाएर आफ्नो प्रतिनिधिको आवाज सुन्ने गम्भिरता प्रस्तुत गरेका उदाहरणहरु छन् ।
निजले मेरोबिरुद्ध आरोप लगाएपछि अनुसन्धानमा सहयोग गर्न मैले आफ्नो कुटनीतिक उन्मुक्ति खुला ( Diplomatic immunity waive ) अष्ट्रेलियन सरकार समक्ष पेश गरेको अवगतै छ । अष्ट्रेलियन सरकारले ममाथि लागेको सम्पूर्ण आरोप झुठा साबित गर्दै स–सम्मान कुटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरिएको गरिसकेको जानकारी गराउन चाहन्छु । राम्रै काम गरें, गर्वानुभूति छ
अष्ट्रेलियास्थित नेपाली दूताबास सम्हाल्न आई पुगेदेखि नै नेपाल सरकारले दिएको जिम्मेवारी यहाँको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत अष्टे«लियन समाजमा गर्विलो छाप बनाउन सफल भएका थियौँ । अष्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थीको उपस्थिति रहेको छ । नेपाली समुदायलगायत सेवाग्राहीका लागि वाह्रै महिना २४ सै घण्टा नेपाली समुदायमा खटिएर काम गरेकी छु । यहाँको स्थानीय बिदामा पनि अहोरात्र खटिएर काम गरेको यहाँ सेवाग्राहीहरुकै भनाइबाट बुझ्न सकिन्छ ।
डिप्रेसन र अनेकौँ रोगका शिकार भएकाहरुलाई आफ्नै र कन्सुलर जेनेरलहरुसँग मिलेर नेपाल उनीहरुको स्वेच्छाले फर्काउने काम गरेकी छु, अन्य नेपाली संघसंस्थाले पनि यसमा पहल लिएको छ । अनाहकमा झुट्टा मुद्दा लगाई फसाएका नेपालीहरुलाई कठोरतम जेल सजाय हुनबाट बचाएको छु । हाल नेपाली समाजमा समस्याकै रुपमा देखा परेको कैयौँ घरबार टुट्नबाट जोगाउने काम गरेकी छु ।
कतिपय नेपालीहरुले दूताबासको क्षेत्रधिकारभित्र यस्ता जिम्मेवारी पनि पर्छन भन्दै अचम्मित भएको पाईयो । अझ भनौँ, नेपालीहरुले अभिभावक नेपाली दूताबास हो भन्ने मान्यता स्थापित गर्ने प्रयास गरेकी छु । दूताबासले पनि पीडित र सेवाग्राहीको पक्षमा यस्तो भूमिका खेल्न सक्छ भन्ने मान्यता स्थापित गर्नको साथै आँट भरोशा नेपाली समुदायलाई दिएकी छु । यी सबै सम्झदा आफूलाई गर्बको अनुभूति हुन्छ ।
यसकारण राजीनामा दिएँ यहाँहरुलाई दुखको साथ भन्नैपर्ने हुन्छ, आफू ल्याएको निजी सहयोगीको कर्तुतहरु र पीडितहरुले गरेका उजुरीका चाङहरु मसँग छन् । नक्कली ड्राइभिङ लाइसेन्स धन्धामा देशको शीर्षस्थ नेताको समेत नाम दुरुपयोग गरी कैयौँलाई ठगी गरेको, भूकम्पपीडितलाई ट्याक्सी निकालिदिन्छु भनी दर्जनौँलाई ठगी गरेको, साथै बिदेश लैजान्छु भनी नक्कली कागजात मात्र होइन, नक्कली भिसा नै बनाएर कैयौँलाई ठगी गरेको, साथै सन् २०१७ सेप्टेम्बरमा अष्टे«लियाको टेलिभिजनबाट प्रशारित एक कार्यक्रममा अन्य देशको निजी सहयोगी भागी प्रोटेक्सन भिसा पाएको घटनाबाट प्रेरित भई हामी न्युजिल्याण्ड गएको मौका छोपी कोही नभएको बेला दूताबासबाट चोरी गरी फरार भएपछि पीडितहरुको सप्रमाण सम्बन्धित निकायमा गरेको उजुरीबाट ठगी धन्धामा लागेको थाहा भयो ।
पीआर पाउने गलत मनासायले धेरैलाई ठगी गर्दै गलत बाटो रोजेकोले, ब्रिजिङ भिसामा रहेका ब्यक्तिले प्रोटेक्सन भिसा रहेको भनी सबैलाई गुमराहमा राखेको र निजले केही ‘एसाईलम’ का धन्धा चलाएर बसेका ब्यक्तिहरुको उक्साहटमा लागेर आफू र नेतृत्व तहलाई बदनाम गर्ने नियत देखिएको महसुस भई सम्मानित अदालतले म्याद जारी गर्दा पनि हाल फरार रहेका वाङ्छुलाई नेपाल सरकारले अबिलम्ब नेपाल झिकाई कानुन अनुसार कारबाही गरी पीडितहरुलाई न्याय दिन अनुरोध गर्दछु ।
मैले कुनै पदको लागि भन्दा पनि देश र जनताको लागि अहोरात्र खटिएर सेवा गर्दै यो पदमा रहेको हुनाले देश र जनताको हितमा अनवरत र अबिचलित रुपमा एकाग्रताको साथ लागिरहने बाचा गर्दै पदभन्दा आफ्नो मानप्रतिष्ठा र ईज्जतलाई सर्बोपरी ठानी मैले आफ्नो नैतिकताको आधारमा राजीनामा नेपाल सरकार समक्ष पेश गरेको छु ।
एक दिन मर्नुपर्ने जीवनमा ईमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिन र कहिल्यै चुक्ने पनि छैन । देश र जनताप्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा ममाथि भएको चरित्र हत्याको न्याय कहिले र कस्ले दिने ? न्यायिक फैसला होस्, सत्य नमरोस् । त्यसैका लागि मैले बाटो खुला गरेको हुँ । सबैलाई धन्यवाद अन्त्यमा, अष्ट्रेलिया र न्युजिल्याण्डका नेपाली दाजुभाइ दिदिबहिनीहरु यहाँहरुले दिनु भएको माया, आत्मियता, सद्भभाव र सहयोगी भावना मेरो लागि अबिष्मरणीय हुनेछ ।
नेपाल सरकार, नेपालीहरुको साझा संगठन एनआरएनए ओसियाना, एन आर एन ए, एनसिसी अष्ट्रेलिया, न्युजिल्याण्ड साथै अन्य नेपाली संघसंस्था, बिभिन्न पेशा व्यबसायमा रहनु भएका साथीहरु, बुद्धिजीवी बर्ग, पत्रकार बन्धुहरु, सम्पूर्ण अबैतनिक बाणिज्यदूत साथीहरु, अष्टे«लियन सरकार र नेपाली दुताबास क्यान्भेराका साथीहरु साथै अष्ट्रेलिया, न्युजिल्याण्ड र विश्वभरी रहनु भएका सम्पूर्ण मेरा शुभेच्छुक, शुभचिन्तक मित्रहरुमा यहाँहरुले दिनु भएको अमुल्य सल्लाह, सुझाब र सहयोगको लागि हार्दिक आभार ब्यक्त गर्दै मुरिमुरी धन्यवाद दिन चाहन्छु । लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूत मितिः १८ माघ २०७५
नया पेज बाट साभार










